काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताएका छन्।

​बुधवार काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा किराँतीले यस्तो बताएका हुन्। मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न नसकिने बताए।

उनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिशनको दुनो सोझाउन तत्काल आउन नसक्ने बताए। उनले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको पनि स्पष्ट पारे।

उनले पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवर्धन गर्ने रहेको बताए। मन्त्री किराँतीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिशनमा बस्ने जमानाको अन्त्य भएको बताए। उनले आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचना हुने कमिशनको खेल शून्य बनाएर छाड्ने बताए।

मन्त्री किराँतीले पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताए। उनले दुई छिमेकी राष्ट्रको जनसंख्या १ अर्ब ३० करोड र अर्कोको डेढ अर्ब रहेको भन्दै पर्यटन प्रवर्धनका लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भूटान, बंलादेश र नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूमा पनि जोड्ने प्रयास गर्नुपर्ने बताए।

उनले पर्यटन बोर्डले बजेटमा भौतिक संरचना निर्माण हटाएर पर्यटन प्रवर्धन गर्ने योजना नसच्याएसम्म बोर्डको बजेट नआउने बताए। उनले बोर्डका आजसम्मका विकृति र विसंगति अन्त्य गर्न चाहेको उल्लेख गरे। मन्त्री किराँतीले पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महँगा सामान ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको बताए। उनले पर्यटन बोर्डबिना पनि यो देश चल्नसक्ने भन्दै पर्यटन बोर्डले तत्काल बजेट सच्याए बजेट पास हुने बताए।

उनले भने, ‘पर्यटन बोर्डको बजेट सच्चिएन भने अझै आउँदैन। भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको होइन। पर्यटन विभागले पर्यटनसम्बन्धी भौतिक संरचना निर्माण गर्ने हो। पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड पैसा युरोप भ्रमणमा पाइँदैन। नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूलाई पनि बनाउनु पर्छ। पर्यटन बोर्डको पैसामा साली, साढभाइ घुमाउने, मित बुबा र आमा घुमाउने कसैलाई छुट छैन। विकृतिको डङ्गुरमा बसेर जनताको पैसामाथि चयन गर्ने छुट सुविधा छैन। पर्यटन बोर्डले आजभोलि नै बजेट सच्याउने छ। त्यसपछि बजेट पास हुन्छ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए। उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा सबैभन्दा पहिला मन्त्री पद त्याग्नुपर्छ भने मन्त्री पद त्याग्न तयार रहेको बताए। मन्त्री किराँतीले आफू मन्त्री हुनका लागि नजन्मिएको भन्दै राष्ट्रिय आवश्यकताअनुसार तत्काल कुर्सी छोड्न तयार रहेको बताए।

उनले राजनीतिक स्थायित्वका लागि पुरानाको अनुभव र नयाँको जोसजाँगर मिलाएर अगाडि बढ्नुपर्ने बताए। आजदेखि टुरिस्ट बस एशोसिएशन अफ नेपालले टुरिस्ट बसको टिकट अनलाइनको माध्यमबाट काट्न सक्ने गरी ‘टुरिस्ट बस नेपाल’एप्स सञ्चालनमा ल्याएको छ।