बाख्रा व्यवसायी पकेट कार्यक्रममा १४ लाख बढी हिनामिना, नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा
काठमाडौं : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रममा अनियमितता गर्ने नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, लेखापाल सरोजकुमार मण्डल, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी, तत्कालीन नगर कार्यापालिका सदस्य श्रीप्रसाद भगतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
अख्तियारले माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्मालाई पनि प्रतिवादी बनाएको छ।
जनप्रतिनिधि कर्मचारी र कृषक समूहका पदाधिकारीको मिलेमतोमा आर्थिक वर्ष २०७७-०७८ मा विनियोजित बजेटमा १४ लाख ७१ हजार ९२१ रुपैयाँ हिनामिना भएको अख्तियारको ठहर छ।
अनुसन्धानका क्रममा नगरपालिकाका पशु विकास अधिकृत (अधिकृत छैटौँ) अर्जुनप्रसाद यादवले आ.व.२०७७-०७८ मा संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्ला सप्तरी बोदेबर्साइन न.पा. वडा नं.६ मा संचालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको संयोजकको जिम्मेवारीमा रही कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको, झुठ्ठा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको अख्तियारको निष्कर्ष छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल मण्डलले कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै संचालन नगरी सार्वजनिक खरिद ऐन नियमविपरीत हुनेगरी कार्यक्रम सञ्चालन गरेको भनी पेश गरेका नक्कली बिल भरपाईलाई अनदेखा गरेर भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी बजेट भुक्तानी गरेकाले अनियमिततामा संलग्नता देखिएको अख्तियारले जनाएको छ।
उनीहरुलाई पनि अख्तियारले विनियोजित रकमबराबर नै बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिबाना हुन तथा बिगोसमेत असुल हुन आदेशको माग गरेको छ।
अख्तियारले जनप्रतिनिधिहरूको संलग्नता पनि भ्रष्टाचार निवारण ऐन विरुद्धको कसुर भएकाले कैद र जरिबानाको सजाय हुन मागदाबी लिएको छ।
कृषक समूहका अध्यक्ष र कोषाध्यक्षले नगरपालिकासँग गरेको सम्झौता अनुसारको काम नगरी गैरकानुनी लाभ लिनको लागि झुटा बिल भरपाई तयार गरी १४ लाख ७१ हजार ९२१ रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ।
उनीहरूमाथि सोही रकम बराबरको बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















