काठमाडौं : करिब ६१ किलोग्राम सुन तस्करी प्रकरणमा थप एकजनालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको छ।

पाल्पा घर भएका गणेश पौडेललाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए। उनका अनुसार योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ जना पुगेको छ।

उनीहरूलाई न्यायिक हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ तर हालसम्म प्रहरी मुख्य व्यक्तिसम्म पुग्न सकेको छैन। यही प्रकरणमा अनुसन्धानकै क्रममा सीआईबी अधिकृत हङकङ पुगेको छ। थप अनुसन्धानका लागि सीआईबीका एसएसपी दिनेश आचार्य गतराति हङकङ गएका हुन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागले समातेको ब्रेक सुसहितको सुन हङकङबाट ल्याइएको थियो। यो तस्करीमा संलग्न नेपालीबाहेक अधिकांश चिनियाँ नागरिक भएकाले थप अनुसन्धान तथा सूचना संकलनका लागि एसएसपी आचार्य हङकङ गएका हुन्। यसअघि प्रहरीले विदेशी नागरिकहरूको संलग्नता देखिएपछि इन्टरपोललाई पत्राचारसमेत गरेको थियो।

यसअघि पक्राउ परेकाहरूमा केही चिनियाँ र भारतीय नागरिक रहेका छन्। केही चिनियाँसँग भने भारतीय आधारकार्ड समेत फेला परेपछि भारत र चीनको इन्टरपोललाई सहयोगका लागि नेपालबाट पत्राचार गरिएको थियो।

सीआईबीले भारतको इन्टरपोल नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) सँग र इन्टरपोल बेइजिङका दुईवटा सबब्यूरो (हङकङ र मकाउ) मध्ये हङकङ ब्यूरोसँग सीआइबीले सहयोग मागेको हो। पटकपटक ठूलो परिमाणमा अवैध सुन बरामद गरेको नेपाल प्रहरीले सुन भारत लाने गरिएको बताउँदै आएको छ।