काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पत्रकार शंकर तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालतसहित तीन निकायमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्।

सामाजिक संजालमार्फत् चरित्र हत्या गरेको भन्दै नेता शाहीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ का तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालत,नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरो र प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका हुन्।

जिल्ला अदालतले तिवारीलाई आगामी असोज १२ गते उपस्थित हुन आदेश दिएको छ। उजुरी दिएपश्चात् शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै विगत एक डेढ महिनादेखि आफूलाई पत्रकार भन्ने शंकर तिवारी नाम गरेको व्यक्तिले सामाजिक संजालमार्फत् चरित्र हत्या गर्ने र समाजलाई भ्रमित पार्ने काम गरेकोले मुद्दा दर्ता गरेको जानकारी गराएका छन्।

शाहीले आफूले कल्पना नै गर्न नसक्ने कार्य अर्थात तीनवटा विहे गरेको, विभिन्न महिलासँग अवैध सम्बन्ध राखेको, जबर्जस्ती बैवाहिक सम्बन्ध गाँसेको, निर्वाचन आयोगमा आफ्ना झुट्टा विवरण बुझाएको,विभिन्न युवतीसँग लिभिङ टुगेदरमा बसेको, कीर्ते र ठगी गरेको भनी तिवारीले सामाजिक संजालमा प्रकाशन गर्दै आएपछि तिवारीविरुद्ध मुद्दा दर्ता गरेको प्रष्ट पारेका छन्।

उक्त कपोकल्पित कुरा गरेर आफ्नोबारे भ्रम नफैलाइदिन आफूलाई पटक-पटक आग्रह गर्दा पनि तिवारीले भ्रम फैलाउन नछाडेपछि कानुनी प्रक्रियामा जान बाध्य भएको शाहीको भनाइ छ। नेपाल पत्रकार महासंघले भने नीतिन्यूज डटकममा कार्यरत पत्रकार तिवारीलाई सांसद शाहीले धम्क्याएको भन्दै आइतबार विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो।