काठमाडौं : एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपाल पहिला बलिङमा तानिएको हो।

दुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ । एसिया कप डेब्यु गर्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तान प्रतिद्वन्द्वी पाएको हो ।

एसिया कप खेल्ने नेपालको सपना दशक अगाडिदेखि थियो । यो मौका सन् २००५ मा पनि जुरेको थियो। नेपाल छनोट भएपनि कार्गिल युद्धको कारण प्रतियोगिताको त्यो संस्करण नै हुन सकेन । क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र पाकिस्तानले एक दिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ।

उत्कृष्ट लयमा रहेको पाकिस्तान हालै मात्र एकदिवसीय विश्व वरीयतामा शीर्ष स्थानमा पुगेको छ । तर नेपाली टिमका कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्ध कडा चुनौति दिने प्रयासमा रहेको बताएका छन् । पाकिस्तानका कप्तान बाबर आजमले पनि नेपाल सजिलो प्रतिद्वन्द्वी नभएको प्रतिक्रिया दिएका छन् ।