आज ११ स्थानमा मुसलधारे वर्षा, पहिरोबाट १ जनाको मृत्यु
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका ११ स्थानमा मुसलधारे वर्षा भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४ ठाउँमा भने पहिरो गएको छ।
पहिरोबाट जाजरकोटमा १ जना र सर्पले टोकेर सप्तरीमा १ जना गरी २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले आज सोमबार विहान ८:४५ बजे २३९ वटा वर्षामापन केन्द्रहरू (मानव सञ्चालितः ८२ र स्वचालितः १५७) मा मापन गरिएको २४ घण्टाको वर्षाको विवरणअनुसार १३७ वटा केन्द्रमा पानी परेको छ।
ती केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा (१०१.५ मिलीमिटर.) उदयपुर जिल्लाको उदयपुरगढी केन्द्रमा भएको छ। वर्षामापन गरिएका केन्द्रहरूमध्ये ५९ वटा केन्द्रहरूमा १० मिलीमिटरभन्दा बढी‚ २८ वटा केन्द्रहरूमा २५ मिलीमिटरभन्दा बढी‚ ८ वटा केन्द्रहरूमा ५० मिलीमिटरभन्दा बढी र एउटा केन्द्रमा १०० मिलीमिटरभन्दा बढी वर्षा भएको छ।
यस्तै, लेक लागेर रसुवामा १ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























