काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

आइतबार वीरगञ्जमा माओवादी केन्द्रकाे कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले सरकारले चालिरहेको सुशासनको अभियान असफल बनाउन षडयन्त्र भइरहेको बताएका हुन्।

‘सुशासनको अभियानलाई असफल बनाउने षड्यन्त्र भइरहेको छ। भ्रष्टाचार, तस्कर, कालोबजारी, अपराधीहरूले सुशासनको अभियानलाई कसरी असफल बनाउन फेल गराउन सकिन्छ भनेर षड्यन्त्र रचिरहेका छन्,’ उनले भने।

मन्त्री श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनको अभियान नरोक्नेसमेत स्पष्ट पारे। उनले विकास समृद्धिको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने बताए।

‘प्रचण्ड नेतृत्वको सरकारले सुशासनको अभियान रोक्दैन। यसलाई अगाडि बढाएर सफल बनाई छोड्छ। हामी कसैको धम्की र प्रहारबाट आत्तिने छैनौँ,’ उनले भने, ‘नयाँ नेपाल बनाउन सुशासनको अभियानलाई सफल बनाउनुपर्छ। तस्कर, ठग र जालीझेलीलाई कारबाही गर्नुपर्छ। हिजो माओवादीको नेतृत्वमा सरकार बनाउँदा सकारात्मक काम भए। अँध्यारो युगलाई उज्यालोमा लैजाने, लोडसेडिङ अन्त्य गर्ने काम माओवादीले गर्यो। अहिले हामी भ्रष्टाचारविरोधी अभियानहरू चलाइरहेका छौँ।’