भोलि ‘बागमती नदी महोत्सव जलजात्रा’ गरिँदै
काठमाडौँ : भोलि शनिवार ‘बागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ।
नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिस (नारा) र फ्रेण्ड्स क्लब कुपण्डोलले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमबारे जानकारी गराएका हुन्।
बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित उक्त जलजात्राको २३ औं संस्करणको रूपमा मनाउन लागिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए। ललितपुरको कुपण्डोलस्थित बागमती पुलछेउमा शनिवार बिहान ७ बजे सहभागी भई उक्त जलजात्रामा सहभागी हुन पनि उनले सरोकारवाला निकाय र यस अभियानमा संलग्न सबैलाई आह्वान गरे।
अध्यक्ष अधिकारीले भने, ‘महोत्सवको उद्देश्य बागमती नदीलाई माया गर्ने, विभिन्न व्यक्तित्व, संघसंस्था र आम नागरिकलाई यो महाभियानमा सरिक गराउने सत्प्रयास हो। यो महोत्सव एक साझा मञ्च हो । यसले सबैलाई नदीको अवस्था बुझाउने र तिनीहरूको सरोकार राख्ने अवस्था सृजना गर्छ।’
जलजात्रामा सरकारी निकाय, सञ्चारकर्मी, विद्यार्थी, स्थानीय, बागमती सफाइ अभियानमा संलग्न गरी करिब १ हजार जना सहभागी हुने अपेक्षा गरिएको छ। बागमती नदी किनारामा पार्क तथा खेलकुद मैदान समेत निर्माण हुने गरी आफूहरूले जलजात्रा अभियानलाई निरन्तरता दिँदै आएको पनि नाराले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















