भक्तपुर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताएका छन्।

आज शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खल्बल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताएका छन्।

उनले सद्भाव खल्बल्याउने गतिविधिलाई प्रश्रय दिन थालिएको भन्दै यसप्रति सबै तहका सरकार, राजनीतिक दलहरु र आम नेपाली जनता सचेत हुनुपर्ने बताए। उनले आपसी एकता र सामाजिक सद्भावले नै देशको विकास निर्माणलाई अगाडि बढाउने कुराको सन्देश बोकेर देशभर अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताए।

विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको पहिचानको रुपमा नेपाली समाज रहेको उल्लेख गर्दै उनले सो विविधताको पहिचानलाई जोगाउन सचेत भएर अघि बढ्नुपर्ने बताए। उनले आपसी सद्भावको वातावरण बनाउन संघ, प्रदेश र स्थानीय तहको सरकार मिलेर नयाँ अभियान चलाउनुपर्ने बताए।