काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताएकी छन्।

बिहीवार मिडिया एड्भोकेसी ग्रुपले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरू भएकाले कानून निर्माणमा समस्या भएको बताइन्।

उनले साइबर ऐन तथा सूचना सम्बन्धी विधेयक बनाउन विभिन्न स्वार्थ समूहका कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको स्विकारिन्। उनले मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल शुरु हुनेबित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानूनको अपव्याख्या शुरु गरेको बताइन्।

उनले कानूनको अपव्याख्या र खरो रूपमा प्रहार गर्ने गरिएको भन्दै मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गरिन्। उनले सरकारले ल्याउन लागेको सूचना सम्बन्धित विधेयकमा सामाजिक सञ्जाल सम्बन्धी ऐन पनि समेटिएकाले उक्त कानूनको विषयमा छलफल गर्दा सबैको फोन ट्यापिङ भइसक्यो भन्ने हल्ला गरिएको बताइन्। उनले उक्त कानून बनाउन स्वार्थ समूहका कारण अगाडि बढाउन नसकेकाले थन्काएर राखिएको स्पष्ट पारिन्।

उनले भनिन्, ‘सञ्चार मन्त्रालयमा यति धेरै स्वार्थ समूह हुँदा रहेछन्। एउटा कानून बनाउन थाल्यो भने त्यसले कसैलाई छोइहाल्दो रहेछ। त्यसको एउटा अंश झिकेर बनाउन लागेको कानूनलाई अपव्याख्या गरेर अर्कै ढङ्गले प्रहार हुन्छ। त्यो प्रहारले सञ्चार मन्त्रालयले कानून बनाउन सकिँदैन भन्ने जस्तो महसुस हुन्छ। सूचना सम्बन्धी विधेयकमा सामाजिक सञ्जालसम्बन्धी ऐनका बारेमा मन्त्रालयले छलफल मात्रै गरेको थियो। सबैको फोन ट्यापिङ भइसक्यो भन्ने ढङ्गले बाहिर छलफल भयो। त्यसलाई कानून बनाउन नकेर थन्काएका छौं।’

मन्त्री शर्माले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एकपटक सरोकारवालासँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउने बताइन्। उनले मन्त्रालयले कानून बनाउन विभिन्न समस्या झेलिरहेको बताइन्। उनले मन्त्रालयले छुट्टाछुटै विषयमा विधेयक ल्याएर कानून बनाउने तयारी गर्न आवश्यक देखिएको बताइन्।