काठमाडौं : प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बाल्दै प्रतिनिधि सभा सदस्य अर्यालले सरकारले श्रमिकहरुको पारिश्रमिक बढाउनु सकारात्मक भएको बताए। उनले उद्योगी, व्यवसायीले बढेको पारिश्रमिक लागू गर्न नसक्ने बताइरहेको भन्दै बढेको पारिश्रमिक लागू गर्न सरकारले वातावरण बनाइदिनुपर्ने बताउनु भयो। उहाँले पारिश्रमिक वृद्धि लागू गर्न नसके राम्रो सन्देश नजाने बताए।

उनले भने ‘अहिले सामान्य बढेको पारिश्रमिक पनि लागू गर्न सकेनौँ भने पक्कैपनि राम्रो सन्देस जाँदैन। उद्योग, व्यवसाय प्रवद्र्धन गर्नु र श्रमिकका हक, हीतमा पनि काम गर्नु सरकारको दायित्व हो। त्यसैले उद्योगि, व्यवसायीले खुशी खुशी बढेको पारिश्रमिक लागू गर्ने वातावरण सरकारले तयार गरिदिनुपर्छ।’

प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी ८ वर्ष अघि टीकापुरमा थारुहरुको आफ्नो हक, अधिकार, पहिचान र भुगोलका लागि राजनीतिक आन्दोलन भएको भएपनि थारूहरु जेलजीवन बिताउनुपरेको उल्लेख गर्दै उनीहरुलाई जेलमुक्त गर्न माग गरे। उनले थारूहरूमाथि राज्यले दमन र विभेद गरेको भन्दै थारूहरू पुनः जुर्मुराउन सक्ने बताए।

प्रतिनिधिसभा सदस्य दीपा शर्माले चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। उनले सिटिइभिटी अन्तर्गत सञ्चालित क्याम्पस सञ्चालकहरु आन्दोलित भइरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याई घटनामा संलग्नलाई कारबाही गर्न माग गरे। उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरे।

उनले भने ‘भक्तपुरमा सञ्चालित न्युनतम बालबालिकाका लागि सञ्चालित संस्था युसेफमा भदौ ३ गते कमल बस्नेतको मृत्युको घटनालाई लिएर युसेफमा तोडफोड भएको छ। घटनाको सत्यतथ्य बाहिर ल्याइ सम्बन्धित निकायमार्फत उक्त घटनामा संलग्नलाई कारबाही र मृत्यु भएको बालकको क्षतिपूर्तिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु।’

प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटको श्रीराम सुगर मिल २ वर्षदेखि बन्द भएको भन्दै तत्काल सञ्चालन गर्न सरकारसँग माग गरे।

प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका २२ नदीहरुलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यका नदी व्यवस्थापन गुरु योजना बनाएर काम अगाडि बढाउनुपर्ने बताए। उनले उपत्यकालाई हरियो तथा वातावरणमैत्री बनाउनका लागि सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरे। उनले शुल्क वृद्धि अस्वभाविक भएको बताए।

प्रतिनिधिसभा सदस्य पौडेलले त्रिभुवन विश्वविद्यालय भद्रगोल ढंगले चलिरहेको भन्दै यसलाई सुधार गर्नका लागि शिक्षा मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने बताए।