गोरु काटेको घटनाबारे काँग्रेस सांसद भण्डारीद्वारा सरकारसँग जवाफ माग
काठमाडौँ : नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरमा केही साताअघि सार्वजनिक रूपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गरेका छन्।
बुधवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसद्मा दिन माग गरे। उनले सदियौँदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वाभाविक र अराजक गतिविधि गरेर दूषित बनाउन खोजिएको बताए। उनले आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौती दिँदै धरानमा भएको घटना निन्दनीय भएको बताए।
उनले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको बताए। नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरूले द्वन्द्व सिर्जना गराई लाभ लिन खोजेको स्पष्ट भएको बताए।
उनले भने, ‘केही दिनअघि धरानमा गोरु काटेर सामूहिक भोज गरिएको घटनामा संलग्न उच्छृंखल तत्त्वहरूले सामाजिक सञ्जालमार्फत प्रचार गर्न खोजेको देखिन्छ। वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, यसका आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गरिएको छ। यो गलत मनशाय बोकेका नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीले द्वन्द्व सिर्जना गराई लाभ लिन खोजेको बुझ्न कुनै कठिनाइ छैन। यो घटनाको बारेमा के भइरहेको छ ? गृहमन्त्रालयको ध्यानार्षण गराउन चाहन्छु। साथै के गरिरहेको छ? जानकारी गराउन आग्रह गर्छु।’
सांसद भण्डारीले नेपालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खलबल्याई द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्त्वहरूको अवाञ्छित क्रियाकलाप बढ्दै गएकोप्रति दुःख व्यक्त गरे।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















