पर्वत : ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ भन्ने नारासहित पर्वत सदरमुकाम कुश्मा बजारमा खुला तथा सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

पर्वत स्पोर्टस् हाउस कुश्माको आयोजनामा पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल वडागाँउमा आउँदो भदौ ८ र ९ गते प्रतियोगिता हुन लागेको हो। प्रतियोगताका लागि जिल्ला खेलकुद विकास समिति र पर्वत मोदीकाली ब्याडमिन्टन संघको संयोजन रहेको छ।

खुला ब्याडमिन्टन तर्फ नेपालका २० रेङकिङ भित्रका खेलाडी बाहेकका खेलाडीहरू प्रतियोगितामा सहभागी हुन पाउने छन्। सी लेभल ब्याडमिन्टन तर्फ साबिकको धवलागिरि अञ्चलभित्रका खेलाडी र पर्वत मोदीकाली ब्याडमिन्टन संघका आजीवन सदस्यहरूले भाग लिन पाउने छन्। पर्वत स्पोर्टस हाउसका सञ्चालक जगदीश सुवेदीका अनुसार प्रतियोगितामा भाग लिन चाहेको समूहले भदौ ७ गते समूह दर्ता गराउनुपर्ने छ।

ब्याडमिन्टन खेलको विकास तथा विस्तार र नयाँ प्रतिभाशाली खेलाडी उत्पादन एवं कुश्माको पर्यटन क्षेत्रको विकासको लागि गर्न लागिएको प्रतियोगिताको खुलातर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितीय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार १० हजार रुपैयाँ साथै सिल्ड, मेडल र प्रमाणपत्र रहेको छ। यस्तै सी लेभलतर्फ प्रथम पुरस्कार २० हजार रुपैयाँ, द्वितीय पुरस्कार १० हजार रुपैयाँ र तृतीय पुरस्कार छ हजार रुपैयाँका साथै सिल्ड, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक सुनील थापाले जानकारी दिए। खुला र सी लेभलतर्फ प्रथम हुने जोडीलाई हार्नेस जीपलाईन प्रा.लि. कुश्माको तर्फबाट क्लासिक जीपलाइन निःशुल्क गराइदिने हार्नेस जीपलाईन प्रा.लि.का सञ्चालक सुनील बानियाँले बताए।

खेलाडीहरूको सुविधाका लागि बिहानको खाना आयोजकले नै कभर्डहलमा व्यवस्था गर्ने तयारी छ। प्रतियोगितामा सबै खेलाडीहरूलाई खेल खेल्न अनुरोध गरिएको खेल संयोजक एवं पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माका कोषाध्यक्ष राम पुनले बताए। प्रतियोगितामा देशभरबाट सहभागिताको अनुरोध गर्दै आवश्यक तयारी पनि पूरा भएको छ।