कपिलवस्तुको शिवराजमा धुमधामका साथ मनाइयो गुरही पर्व
एस.आर. सिटी
चन्द्रौटा, ५ भदौ ।
थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने ‘गुरही’ पर्व कपिलवस्तुमा पनि धुमधामका साथ मनाइएको छ । जिल्लाको शिवराज नगरपालिका १, उमरीमा सामुहिक रुपमा गुरही पर्व मनाइएको हो ।
थारु कल्याणकारिणी सभा शिवराज नगर कार्य समितिको आयोजना तथा थारु संग्रहालय संरक्षण समिति र स्थानीयको समन्वयमा यो पर्व मनाइएको हो । साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि गुरही पर्व मनाइएको थियो । नयाँनयाँ पोशाकमा सजिएर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर थारु अगुवा तथा गाउँका भद्र भलाद्मीदेखि बच्चाबुढासम्म ¥यालीमा सहभागी थिए । 
तोर ढेँङ(अग्लो) कि मोर ढेँङको नारासहित करीब हजार बढीको संख्यामा गाउँबाट निकालिएको ¥याली उमरी गुफा मन्दिर अगाडि कोणसभामा परिणत भएको थियो । कोणसभामा वडा नं. १ का वडाध्यक्ष खिमविक्रम के.सी., वडा नं. २ का वडाध्यक्ष रामबहादुर चौधरी, स्ट्रोम फाउण्डेसनका कार्यक्रम संयोजक जीवन बस्नेत, किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावल, थारु कल्याणकारिणी सभा शिवराज नगर कार्य समिति अध्यक्ष प्रकाश थारु लगायतले गुरही पर्वको महत्वको बारेमा प्रकाश पार्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । 
गाउँका अगुवाको निर्देशन अनुसार लौरा (सोँटा) सहित त्यहाँ पुगेका पुरुषहरुले सेलाएका गुरही र दियोमा सोँटाले पिटेर कार्यक्रम सम्पन्न गरेका थिए । त्यसपछि बालिका, किशोरीहरुले लिएर गएका घुघरी (चना), खँरिया, फुलौरी, भुजा लगायतका गेडागुडी उपस्थित सबैलाई बाँडेर सामुहिक रुपमा गुरही पर्व भव्यताका साथ सम्पन्न भएको स्थानीय आशा सञ्जालका सागर थारुले जानकारी दिए । 
किन मनाइन्छ गुरही पर्व
परापूर्वकालदेखि थारू समुदायले ‘गुरही’ पर्व मनाउँदै आएको पाइन्छ । वर्षायाम अन्त्य भई हिउँद शुरुवातसँगै यो पर्व मनाइन्छ । यो पर्व मनाउनले धानबालीमा रोगब्याधी नलाग्ने, अन्नबाली फस्टाउने जनविश्वास छ । गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास गरिन्छ । यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँघरमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको मान्यता रहेको छ । नागपञ्चमीकै दिन थारु समुदायले गुरही पर्व मनाउने प्रचलन परापूर्वकालदेखि नै रही आएको छ ।
साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर (अगुवा) को पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरु नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँमा जुट्छन् । त्यसपछि थारु भेषभुषामा सजिएका थारु बालबालिका, युवायुवतीहरु गुरही सेलाउने गन्तव्यतर्फ सामुहिक रुपमा जान्छन् ।
गाउँका बडघरले ठटाउने आदेश दिएपछि जम्मा भएका केटाहरु आफूसँग ल्याएको रंगीचंगी कोर्राबाट गुरही ठटाउँछन् र “देउ घुघरी” “लेउ घुघरी” को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमानका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइन्छ भन्ने विश्वास छ ।
‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदी–वहिनीहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादको रुपमा बाँड्ने प्रचलन छ । दिदीबहिनीहरुले चना, मकै, केराउ लगायतका परिकारका भुजा प्रसादको रुपमा बाँड्ने गर्छन् । थालको भुजा न सिद्धिएसम्म जम्मा भएका केटाकेटीहरु भूजा माग्छन् ।
ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा घरमा रहेको दुःखकष्ट र सर्प विच्छीहरु घरबाट निस्केर जाने विश्वास गरिन्छ । ‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्ठी गरिन्छ । त्यसो गरेमा गाउँघरमा रहेको रोग व्याधी र संकट पानीसँगै बगेर जाने र सुखलाभ प्राप्त हुने थारु समुदायमा विश्वास रहेको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























