दुर्लभ रोग ‘एआरपिसी वान बी डिफिसेन्सी’ पीडित बालकलाई साढे पाँच लाख सहयोग
पर्वत : संसारकै दुर्लभ रोग मानिने ‘एआरपिसी वान बी डिफिसेन्सी’ बाट पीडित पर्वतको कुश्मा नगरपालिका–१ पाङका २९ महिने बालकको उपचारको लागि आर्थिक सहयोग गरिएको छ।
तल्लो पाङका प्रकाश सुवेदी र विष्णु सुवेदीका छोरा प्रशान्तको उपचारका लागि ठूलो धनराशि खर्च हुने र त्यो रकम परिवारले धान्न सक्ने अवस्था नभएपछि स्थानीय पाङ युवा क्लबमार्फत पाँच लाख ५९ हजार पाँच सय ९५ रुपैयाँ बालकको परिवारलाई हस्तान्तरण गरिएको छ।
प्रशान्तको उपचारमा करिब ७० लाख रुपैयाँ भन्दा धेरै खर्च हुन सक्ने चिकित्सकहरूको सुझावपछि परिवारको अनुरोधमा क्लबले आर्थिक सहयोगका लागि गत असार २० गतेबाट ‘आर्थिक सहयोग अभियान’ सञ्चालन गरेको थियो। सोमबार वडाध्यक्ष खगराज पौडेल, पूर्व वडाध्यक्ष देवेन्द्रप्रसाद सुवेदी, वडा सदस्यहरू, समाजसेवी लगायतको उपस्थितिमा परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो।
क्लबका अध्यक्ष जयराम सुवेदीका अनुसार प्रशान्त जन्मिएको दुई वर्षदेखि विश्वकै दुर्लभ रोग एआरपिसी वान बी डिफिसेन्सी रोग लाग्दा सामान्य बिरामी भइरहने समस्या देखिएको थियो। दुई वर्षको उमेरपछि सङ्क्रमण झन् बढ्दै काठमाडौँ स्थित ओम अस्पताल राखेर उपचार जारी राखिएको छ। प्रशान्तमा दुई वर्षको उमेरदेखि बारम्बार सङ्क्रमण हुने, कान पाक्ने, लिम्फ ग्रन्थि सुन्निने, दिशा, पिसाब, मुख र गिँजावाट रगत आउने, शरीरका विभिन्न भागमा राता दाग आउने, चिलाउने घाउ र एलर्जी हुने लगायतका समस्याहरू देखिन थालेका थिए।
प्रशान्तको उपचारको लागि अहिलेसम्म करिब २० लाख रुपैयाँ खर्च भएको छ। चिकित्सकका अनुसार उक्त रोगको उपचारका लागि तत्काल विशेष किसिमको बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। त्यसका लागि ७० लाख रुपैयाँ भन्दा बढी रकम खर्च हुने चिकित्सकले बताएका प्रशान्तका बाबु सरोज प्रकाश सुवेदीले जानकारी दिए।
बोन म्यारो प्रत्यारोपण अघि चार÷पाँच महिना सम्म प्रत्येक तीन तीन हप्तामा बच्चाको शरीरमा एन्टिबडी चढाउनुपर्ने भएकोले हरेक साता ५० हजार खर्च हुने भएकाले पनि प्रशान्तको उपचारमा समस्या भएको छ। परिवारको आर्थिक अवस्था कमजोर रहेको र बालकको उपचार सबैको सहयोगले मात्र हुन सक्ने भएपछि आर्थिक सहयोग जुटाउने अभियान थालिएको हो।
पाङ युवा क्लबका अध्यक्ष सुवेदीले प्रशान्तको उपचारमा तत्कालै रकम आवश्यक परेपछि हालसम्म सङ्कलित रकम परिवारलाई दिइएको बताउँदै ‘आर्थिक सहयोग अभियान’ लाई निरन्तरता दिइने बताए। २९ महिने बच्चाको अवस्था निकै टिठलाग्दो भएकाले देशभित्र वा बाहिर रहेका सबैलाई सक्दो सहयोगका लागि अपिल गरिएको उनको भनाइ छ।
प्रशान्तका बुबा प्रकाशले विगतमा छिमेकी भारतमा नोकरी गर्दै आएका थिए। भारतमा रहँदा उनले आम्दानी गरेको रकमसहित श्रीमती र आफ्ना गरगहना समेत बेचेर उनले केही समय अगाडिसम्मको खर्चको व्यवस्थापन गरेको भए पनि अब भने आफूहरूको साथमा लगानी गर्ने अवस्था नरहेकोले छोरा बचाइदिन सबैमा अनुरोध गरिएको प्रकाशले बताए।
बालकको उपचार गर्दै आएका ओम अस्पतालका रोग प्रतिरक्षा विशेषज्ञ डा. धर्मागत भट्टराईका अनुसार बालकको उपचार नेपालमा सम्भव नभएकाले बोन म्यारो प्रत्यारोपणका लागि भारतको दिल्ली वा अन्यत्रै लैजानुपर्ने अवस्था छ। नेपालमा निको हुने गरी उपचार नभएको र रोगका विरुद्ध प्रतिरक्षा शक्ति बढाउने काम मात्र भइरहेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















