काठमाडौं : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटवार्ता भएको छ।

भेटमा दुवैबीच निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको बताइएको छ। उपप्रधानमन्त्री खड्का र प्रमुख आयुक्त थपलियाबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको थियो।

हाल प्रदेशसभातर्फ सुदूरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन्।

हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखा गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडा अध्यक्षको पद रिक्त छ।