कोशी प्रदेश : सचिवालयले थाल्यो कानुन व्यवसायीसँग परामर्श
विराटनगर : कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार बैठकमा अनुपस्थित हुने भएपछि प्रदेशसभा सचिवालयले कानुन व्यवसायीसँग परामर्श थालेको छ।
कोसी प्रदेश प्रमुखकी उपसभामुख दनुवार आफैँले आज सोमबार प्रदेशसभा बैठक बलोएकी थिइन्। तर, उनी आफू बिरामी भएको कारण देखाउँदै काठमाडौं हिँडेपछिको परिस्थितिबारे प्रदेशसभा सचिवालयले कानुन व्यवसायीसँग परामर्श थालेको हो।
उपसभामुख दनुवारको अनुपस्थितिमा प्रदेशसभाको बैठक कसरी संचालन गर्ने भन्नेबारे सचिवालयले मुख्यन्यायाधिवक्तासहित कानुन व्यवसायीसँग छलफल गरेको हो।
छलफलको लागि सचिवालयले कोसी प्रदेशका मुख्यन्यायाधिवक्ता बुद्धिबहादुर कटुवाल, पूर्व मुख्यन्यायाधिवक्ता चुणामणि आचार्यसहित कानुन व्यवसायीसँग छलफल गरेको हो।
उपसभामुख दनुवार अनुपस्थित भएपछि बिहान ८ बजेको लागि राखिएको कार्यव्यवस्था समितिको बैठक स्थगित भएको थियो।
बैठकमा सहभागी सदस्यहरुको सल्लाहअनुसार कानुन व्यवसायीसँग छलफल भइरहेको कोसी प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए। उपसभामख दनुवारले आफू अनुपस्थित हुँदा अध्यक्ष मण्डलका सदस्य इसराईल मन्सुरीलाई बैठक संचालनको कार्य जिम्मेवारी दिएको बारे संवैधानिक र कानुनी छलफलमा सचिवालय जुटेको हो।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेकै दिन उपसभामुखको अनुपस्थिति तथा उनले बैठक संचालनको जिम्मेवारी मन्सुरीलाई तोकेको विषयको कानुनी र संवैधानिक हैसियतबारे छलफल भइरहेको बताइएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















