जंगली च्याउ खाएकी ईश्वरीको मृत्यु
तुलसीपुर : जंगली च्याउ खाएर गम्भीर बिरामी भएकी बंगलाचुली गाउँपालिका-४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनारको मृत्यु भएको छ।
उनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार दिउँसो १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गत साउन २८ गते साँझ बंगलाचुली-४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर उनीसँग उनका ३१ वर्षीय श्रीमान अजय सुनार र ११ वर्षीय छोरी अस्मिता सुनार गम्भीर बिरामी भएका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमका अनुसार २८ गते साँझ उनीहरूले च्याउ ल्याएर खाएपछि २९ गतेदेखि बिरामी भएका थिए।
त्यसपछि उनीहरू उपचारका लागि ३० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आएका थिए। सोही दिन राति करिब साढे ९ बजेतिर छोरीको गम्भीर अवस्था भएपछि उनलाई उपचारको लागि बुटवल लगिएको थियो।
उनको साउन ३१ गते उपचारका क्रममा दिउँसो साढे १ बजेतिर मृत्यु भएको थियो। त्यस्तै उनका बुवा अजयको अहिले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक ईश्वरीका एक वर्ष नपुगेका एक छोरा, ८ वर्षीया र ४ वर्षीया दुई छोरी छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















