जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेर कृष्णनगरले मनायो ३८औं बार्षिकोत्सव
अजय मिश्र
कृष्णनगर, १ भदौ ।
नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ ।
आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालय बाट प्रभातफेरी कार्यक्रम सुरूवात गरि कृष्णनगर बजार परिक्रमा गरि पुनः कार्यालयमा आएर कार्यक्रम समापन गरिएको थियो ।
कृष्णनगर वितरण केन्द्र बाट कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमी नगरपालिका, विजयनगर गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शिवगंगा नगरपालिका वडा नं ११ यस क्षेत्रमा विद्युत लाइन निर्माण, विस्तार, मर्मत तथा आपूर्ति सम्बंधी सम्पूर्ण कार्यगर्दै आएको छ ।
कृष्णनगर वितरण केन्द्रको आर्थिक बर्ष २०७८/७९ मा ४६ हजार २२१ ग्राहकहरु रहेकोमा आर्थिक बर्ष २०७९/८० मा २ हजार १८८ ग्राहकहरु बृद्धि भई ४८ हजार ४ सय ९ ग्राहकहरु पुगेका छन् । हाल ३३ के.भी. को ६३.४ किलोमीटर, ११ के.भी. को ४५६.४४ किलोमीटर तथा ४३०/२३० भोल्टको १ हजार ९२.४९ किलोमीटर लामो लाइन तथा ४२५ थान नेपाल विद्युत प्राधिकरणका वितरण ट्रान्सफर्महरूबाट विभिन्न स्थानमा लाइन सप्लाई भएको छ ।
विद्युत चुहावट नियन्त्रणका गतिविधि हरूलाई तिब्रता दिई साथै प्राविधिक चुहावटमा समेत कमी ल्याई यस वितरण केन्द्रको आर्थिक बर्ष २०७८/७९ मा १२.२२ प्रतिशत रहेको चुहावटलाई आर्थिक बर्ष २०७९/८० मा ९.४५ प्रतिशतमा न्यूनिकरण गर्न सफल रहेको छ ।
आर्थिक बर्ष २०७८/७९ मा विद्युत महसुल बापत रु ७३ कराेड ७२ लाख ९८ हजार ६ सय १४.९३ (९५.६५) प्रतिशत कलेक्शन भएकोमा आर्थिक बर्ष २०७९/८० मा रू ९० कराेड ८६ लाख ४६ लाख १ सय ३६.१३ (९७.७५) प्रतिशत रकम संकलन भएको छ । संकलन प्रतिशत बढाउन प्रचार प्रसारका काम हरूलाई तिब्रता दिनुका साथै १ हजार २९८ ग्राहकहरुको लाइन समेत काटिएको थियो । आर्थिक बर्ष २०७९/८० मा जम्मा ४९ ग्रहकहरूबाट रू २३ लाख ८० हजार ९ सय ९०.८१ बराबरको कालोसूचीमा रहेको रकम समेत असुलउपर भएको छ ।
कृष्णनगर वितरण केन्द्रमा ४० जना स्थायी कर्मचारी, २५ जना ज्यालादारी, ७ जना गोतागन्ती मिटर रिडर, १२ जना सेवा करारका कर्मचारी तथा ९ जना सुरक्षा गार्डहरु कार्यरत रहेको यस वितरण केन्द्रमा कृष्णनगर, महाराजगंज, चन्द्रौटा बाट विद्युत महसुल संकलन गर्न काउन्टर संचालन गरिएका छन् । कृष्णनगर, महाराजगंज, चन्द्रौटा तथा घनचौरामा अवस्थित चार ओटा सब -स्टेसनहरुबाट यस वितरण केन्द्र अन्तर्गतका स्थानहरूमा लाइन सप्लाई गरिएको विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणको ३८औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले बार्षिक कार्य समिक्षा प्रस्तुत समेत गरेको छ । प्रभातफेरी कार्यक्रममा विद्युत कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाजसेवी, बुद्धिजीवी, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेकाे थियाे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















