भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक : राजदूत हाई
काठमाडौँ : नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताएका छन्।
बुधवार नेपाल–भियतनाम चेम्बर अफ कमर्शले स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत हाईले यस्तो बताएका हुन्। राजदूत हाईले भियतनामीहरू नेपालको लुम्बिनी मात्रै नभएर गौतम बुद्धको जन्मभूमि लुम्बिनी तथा अन्य पर्यटकीय क्षेत्रमा आउन इच्छुक रहेको उल्लेख गरे। उनले नेपालमा धेरै पर्यटकीय गन्तव्य रहेको भन्दै नेपालका ट्राभल एजेन्सीले प्रोत्साहन गर्न सक्नुपर्ने बताए।
उनले नेपालमा पर्यटनको ठूलो सम्भावनाको क्षेत्र भएकाले दुई देशले पर्यटन प्रवर्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्न आवश्यक रहेको बताए। उनले नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध राम्रो रहेको बताए। उनले नेपाल–भियतनामको आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गर्न भियतनाम सकारात्मक रहेको बताए।
उनले नेपाल र भियतनाम दुवै देशबीच सिधा उडान गर्ने विषय भिसाको समस्या रहेको बताए। उनले भियतनामले विद्युतीय भिसा जारी गर्ने प्रणाली ल्याएकाले सहज भएको भन्दै नेपालले पनि विद्युतीय भिसा प्रणाली लागू गर्नसके सहज हुने बताए।
भियतनामका लागि कन्सुलर राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्धन गर्न लुम्बिनी–भियतनाम सिधा उडान पहल गरिदिन राजदूत हाईलाई आग्रह गरे। उनले नेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवर्धन गर्न दुवै देशबीच सिधा उडान आवश्यक रहेको बताए। उनले लुम्बिनी–भियतनाम सिधा उडान गर्नसके बुद्धिस्ट सर्किट विस्तारमा टेवा पुग्ने उल्लेख गरे।
उनले नेपाल र भियतनाम दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्ध लगायत क्षेत्रमा सहयोग आदानप्रदान हुन आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























