कपिलवस्तु, ३१ साउन  ।

सवारी चेकजाँचमा कडाई गरी गाउँपालिका अध्यक्षका कार्यकर्तालाई जरिमाना गराउदा पछि कपिलवस्तुमा गाउँपालिका र प्रहरी विच विवाद चुलिएको छ । साउन २६ गते आइतवार जनप्रतिनिधि निकटका सवारी चालकलाई कारवाही गरी जरिमाना तिराए पछि गाउँपालिका आक्रोशित भएको छ । नियन्त्रणमा लिएका मोटरसाइकललाई तत्काल छोड्न नमाने पछि गाउँपालिकाले प्रेस विज्ञप्ती निकालेर विरोध जनाएको छ ।

विज्ञप्तीमा चेकजाँचको नाममा स्थानीयलाई दुख दिने काम भएको भन्दै प्रहरीलाई दिदै आएको सहयोग बन्द गरिएको उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार आइतवार राती अन्दाजी ८ वजे इलाका प्रहरी कार्यालय पकडीले चेँकजाँच गर्ने क्रममा २ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । लु ४१ प ६९८९ नम्बरको मोटरसाइकल चालक ममह अजमल र लु ६२ प ६१०१ नम्बरको मोटरसाइकल चालक अब्दुल सहित अन्य मोटरसाइकल कागजात विना चलाए पछि इप्रका र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचमा रोकिएको थियो । दुबै चालकले लाइसेन्स र व्लुबुक घरमा छुटेको बताए पछि प्रहरीले शंकाको दायरामा राखेको थियो ।
चालकहरुले केही बेर फोन गरे पछि मायादेवी गाउँपालिका अध्यक्ष वलीउद्धीन मुसलमान, वडा नम्बर १ अध्यक्ष मोहम्मद इसवाक मुसलमान, वडा नम्बर ३ का अध्यक्ष शैलेन्द्र कुमार यादव, वडा नम्बर ४ का अस्फाक अहमद मुसलमान र वडा नम्बर ८ का अध्यक्ष मुस्ताक अहमद मुसलमान सहितको टोली चेकजाँच स्थल पुगेको थियो । उहाँहरुले दुबै मोटरसाइकल छाड्न आग्रह गरेको प्रहरीले जनाएको छ ।
जनप्रतिनिधिको दवाव दिए पछी प्रहरीले कागजात नहेरी कागज पत्र साथमा नभएको जनाउदै ५ सय रुपैया जरिमाना तिराएको थियो । जरिमाना तिरे पछि प्रहरीले मोटरसाइकल छाडेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन घलेले सवारी चेकजाँच गर्दा जरिमाना लिएको र घटना सामान्य रहेको बताउनु भयो ।

यता मायादेवी गाउँपालिका अध्यक्ष वलीउद्धीन मुसलमानले चेकजाँचको नाममा दुधे वालक र महिलाहरुले सास्ती पाएको गुनासो आएको बताउनु भयो । प्रहरी र जनप्रतिनिधि विच राम्रो सम्वन्ध हुनु पर्नेमा स्थानीयलाई दुख दिने काम भएको थियो । इप्रका प्रमुख प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीलाई कारवाही हुनु पर्ने अध्यक्ष मुसलमानको माग रहेको छ ।

गाउँपालिकाले इलाका प्रहरी कार्यालय पकडी माताहातको अस्थायी प्रहरी चौकी विजुवाको भवनको भाडा तिदै आएको थियो । सोमबार कार्यपालिकाको बैठक बसी प्रहरीलाई दिएको सेवा सुविधा रोक्ने निर्णय गरेको जनाएको छ । प्रहरीको असहयोगको कारणले सेवा कटौती भएको अध्यक्ष मुुसलमानले बताउनु भयो । प्रहरीलाई उपलव्ध गराउने सेवा सुविधा रोक्ने विषयमा आफूलाई जानकार नभएको प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर यादवले बताउनु भयो ।

विजुवा प्रहरी चौकीको भाडा पालिकाले बेहोर्ने नभए पछि प्रहरी चौकी रहने नरहनेमा अन्यौल भएको छ । इप्रकाले अस्थायी प्रहरी चौकी कायम राख्न स्थानीय सँग छलफल गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनु भयो । स्थायी प्रहरी चौकीको लागी प्रहरी कार्यालय सँग बजेटको व्यवस्थापन नहुने बताइएको छ । –गाेरखापत्र