विजयनगरमा सरसफाई अभियानः कार्यविधि २०७६ पालना नगरे कारवाही
घनश्याम भर
विजयनगर, ३० साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको ७ नम्बर वडा कार्यालयले गाउँपालिको कार्यविधि पालना नगर्नेलाई नागरिकलाई कारवाही गरिने भएको छ । वडा नम्बर ७ ले खानेपानी, सरसफाई तथा वातावरण व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ लाई कार्यान्वयनमा जोड दिएको छ । सात नम्बर वडाले विजयनगर दोस्रो चरणको खानेपानी तथा सरसफाईको अभियान सुरु गरेको जनाइएको छ ।
अहिले गाउँपालिकाले संसोधन सहित पारित गरेको खानेपानी सरसफाई कार्यविधि २०७६ लाई आधार मानेर फोहर गर्ने, गराउनेलाई दण्ड तथा जरिवाना गर्ने कानुन बनेको वडा अध्यक्ष दिनेश कुमार चौधरीले बताए । उनले सोमबार बसेको सर्वपक्षीय भेलामा यस्तो जानकारी गराएका हुन् । वडा अध्यक्ष चौधरीले वडा नम्बर ७ ले गत वर्षदेखि नै पूर्ण सरसफाई अभियान कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।
सर्वपक्षीय भेलामा गत आर्थिक वर्षमा सरसफाई कार्यक्रमको बारेमा समिक्षासमेत गरिएको बताउँदै सरसफाई अभियानले वडामा उल्लेखनीय परिवर्तन भएको र वडाबासीहरुमा सकारात्मक प्रभावकारीता देखिएको बताए । पहिलो चरणको सरसफाई अभियान सकिएको जनाउँदै दोस्रो अभियान सुरु भएको र कडाई साथ वडामा सरसफाईको मापदण्ड कार्यान्वयन गरिने उनको भनाई छ ।
वडाले लागु गरेको सरसफाई कार्डको आधारमा तथ्याङ्क संकलन तथा शौचालयको अनुगमन गरिने, मदिरा पसलहरु दर्ता भए÷नभएको अनुगमन गरिने, प्रत्येक टोलमा ५१ प्रतिशत जनताले सुन्ने गरि माइकिङ्ग गरिने जनाइएको छ ।
यस्तै खानेपानी, सरसफाई तथा वातावरण व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा पेश भई २०८० असार २८ गते संशोधन भएको दण्ड जरिवाना सम्बन्धी बुँदा नम्बर (४) शौचालयको प्रयोग र सरसफाई पूर्ण रुपमा गर्ने गराउने वडाले जनाएको छ ।
बाहिर दिसापिसाब गरेको अवस्थामा, बाटो अवरोध गर्ने, पशुचौपायाहरु बटोमा बाँधे, सडकको छेउछाउमा विभिन्न निर्माण सामग्री राख्ने, फोहर गर्ने गराउने व्यक्तिलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्राप्त हुने सेवा सुविधा ३ देखि ६ महिनासम्म रोक्ने, एक पटकमा ५ सय देखि ५ हजार रुपैयाँको दरले जरिवाना काट्ने वा कानुन बमोजिम कारवाहीको व्यवस्था मिलाउने सर्वपक्षीय भेलाबाट सर्वसम्मले निर्णय भएको छ ।
यस्तै शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले यस पूर्ण सरसफाई अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए । उनले समाज परिवर्तन र सभ्य समाज निर्माणका गर्न सबै नागरिकको कर्तव्य भएको बताउँदै सरसफाई अभियानमा लाग्न अनुरोधसमेत गरे । उनले धेरै बालबालिकाले चर्पीको प्रयोग गर्न नजान्दा बाहिरै दिसापिसाब गर्ने हुने हुँदा अभिभावकले बालबच्चाको चर्पीको प्रयोग र सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिए ।
यसैगरी गाउँपालिका वास संयोजक अर्जुन बेल्बासेले यो सरसफाई अभियान गाउँपालिकाभरि कडाइका साथ लागू हुने बताएका छन् । उनले खानेपानी, सरसफाई तथा वातावरण व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ लाई आधार मानेर गाउँपालिकाले पूर्ण सरसफाई अभियान सञ्चालन गरिने बेल्बासेले बताए । उनले पूर्ण सरसफाईको मापदण्डलाई सबै नागरिकले पालना गर्नुपर्ने बताउँदै नभए गाउँपालिकाले कारवाहीका लागि आवश्यक कदम चाल्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















