काठमाडौं महानगरपालिका : वर्षायाममा पानीपुरी र चटपटे बिक्री वितरणमा रोक लगाउने तयारी
काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र वर्षायाममा पानीपुरी,चटपटे बेचबिखनमा रोक लगाउनुपर्ने प्रस्ताव अगाडि बढेको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यस्तो प्रस्ताव गरेका हुन्।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने,‘पानीपुरी, चटपटेजस्ता उपभोक्ता खानेकुरामा उपभोक्ताहरू झुम्मिने गर्नुभएको छ, यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने हुन सक्छ।’ उनले खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत रहेको बताउँदै यसलाई तत्काल रोक लगाउनुपर्ने पनि देखिएको पनि बताए।
यस्तै, महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनुपर्ने बताइन्।उनले बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन पनि निर्देशन दिइन्।
‘माछा मासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ, यसको स्रोतहरू मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्’, उनले भनिन,‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो,मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारबाहीको दायरामा ल्याउनुपर्छ।’
बैठकमा वडाअध्यक्ष एवं अनुगमन मूल्याङ्कन समितिका सदस्य राजेन्द्र मानन्धरले फाल्नु पर्ने तरकारी र फलफूल बेचबिखनमा तत्काल रोक लगाउनुपर्ने बताए।बैठकमा यस अघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले भने, ‘कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड छ, यस विपरीतका जार जफत र नष्ट गरिएको हो।’
डा. झाका अनुसार काठमाडौंमा १५० भन्दा धेरै जारको पानीका वितरक छन्। यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था छैन।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















