ज्येष्ठ नागरिकको ४ लाख खाने पालिकामा अख्तियारको छापा
काठमाडौँ : धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। ज्येष्ठ नागरिकको सम्मानका लागि रकम निकासा भए पनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियारले छापा मारेको हो।
मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीका वडाध्यक्ष विन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा उजुरी दर्ता गराइएको छ।
वडाध्यक्ष यादवले ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमका लागि छुट्याइएको ४ लाखको बजेटमा कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नगरेको ज्येष्ठ नागरिकले बताएको उक्त निवेदनमा उल्लेख छ।
त्यसैगरी वैदेशिक रोजगारबाट फर्केका युवाहरूका लागि सीपमूलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३२५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत सडकबत्ती जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९२१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय सञ्चालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी मर्मतका लागि साढे चार लाखको बिल भर्पाई पेस गरेको १ लाख ७८ हजार भुक्तानी लिएको उक्त निवेदनमा उल्लेख छ।
त्यसैगरी वडा नं. ९ मा २ इन्चको कृषि पम्पिङ सेटका लागि छुट्याइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरूका सिकाइ उपलब्धिका लागि श्री रामजानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टीका लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६६० रुपैयाँ भुक्तानी लिएको उजुरीपत्रमा उल्लेख छ।
यसैगरी वडा नं. ९ अन्तर्गत खानेपानीका लागि ह्याण्डपाइप जडान तथा खरिदका लागि छुट्याइएको १० लाख मा ९ लाख ६६ हजार ७५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख छ।
निवेदनमा दुवै आधारभूत विद्यालयले पोशाक वितरण नगरेको र सो वडाका ज्येष्ठ नागरिकले सम्मान नपाएको सही छाप गरिएको आधार पेस गरेका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















