अनेरास्ववियु विजयनगर गाउँकमिटीको अध्यक्षमा उपेन्द्र कँहार
घनश्याम भर
विजयनगर, २७ साउन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विजयनगर गाउँकमिटीको अध्यक्षमा उपेन्द्र कँहार चयन भएका छन् । अनेरास्ववियु विजयनगर गाउँकमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा कँहार चयन भएका हुन् । नेकपा (एमाले) निकट अनेरास्ववियुको शनिबार गाउँपालिकाको वडा नम्बर ६ हरिबोध आधारभूत विद्यालयमा सम्पन्न अनेरास्ववियुको दोस्रो अधिवेशनले १७ जना सदस्यको विजयनगर गाउँकमिटी गठन गरिएकोे जनाइएको छ ।
जसको उपाध्यक्षमा पवन खत्री, लक्ष्मी कार्की, सचिवहरुमा अनुपा खड्का, वर्षा विष्ट, चिन्गुद चौधरी, प्रतिमा थारु र कोषाध्यक्षमा अश्बी सुनार गरि १७ सदस्य अनेरास्ववियु विजयनगर गाउँकमिटी गठन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु कपिलवस्तु जिल्ला अध्यक्ष अन्जित खनालले आफ्नो हक, अधिकार प्राप्त गर्न संगठन आवश्यक रहेको बताएका छन् । उनले देशमा परिवर्तन ल्याउन विभिन्न कालखण्डमा अनेरास्ववियुले अहम भुमिका निर्वाह गरेको बताउँदै अनेरास्ववियु संगठनलाई अझै सशक्त, क्रियाशील र बलियो बनाउनुपर्नेमा जोड दिए ।
विद्यार्थीको हरेक शैक्षिक क्षेत्रमा भएको समस्या समाधानका लागि अनेरास्ववियु जहिल्यै पनि निरन्तर लागेको अध्यक्ष खनालको भनाई छ । उनले विद्यार्थीको शैक्षिक मुद्धालाई उठान गर्न ठुलो चुनौती भएकोले विद्यार्थीहरुको संगठन बलियो हुनेपर्ने बताउँदै विद्यार्थीको हकअधिकार सुनिश्चित गर्नका लागि अनेरास्ववियु आवश्यक रहेको जिकिर गरे । संगठन बिना एक÷एक पाइला अगाडी बढाउन विद्यार्थीलाई मुस्किल भएको हुँदा अनेरास्ववियु अब्बल विद्यार्थी संगठन भएको बताए ।
यस्तै विजयनगर गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले विद्यार्थीले अध्ययनलाई प्राथमिकतामा राखेर निरन्तरता दिनुपर्ने बताए । गाउँपालिका इन्चार्जसमेत रेहका अध्यक्ष थापाले शिक्षाबाट नै देशमा परिवर्तन आउने बताउँदै शिक्षा बिना समृद्ध र सभ्य समाजको निर्माण हुन नसक्ने बताए । उनले अनेरास्ववियुले देशमा शैक्षिक सुधार गर्न नितान्त लागेको बताउँदै सामाजिक र राजनैतिक परिवर्तनमा नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले अतुलनीय भुमिका निर्वाह गर्दै आएको बताए ।
उनले विद्यार्थीलाई संगठनमा बस्न आवश्यक रहेको बताउँदै विद्यालयमा हुने शैक्षिक बेथितीलाई हटाउन, शैक्षिक सुधार गर्न र भएका राम्रा विकास निर्माणका कामलाई प्रचारप्रसार गर्न जरुरी रहेको बताए । अध्यक्ष थापाले विजयनगर गाउँपालिकामा सामाजिक विकासमा सबैभन्दा बढी बजेट विनियोजन गरेको जिकिर गर्दै विद्यार्थीहरुको हरेक समस्याको समाधानका लागि तत्पर रहेको बताए ।
यसैगरी गाउँपालिका उपाध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले हरेक क्षेत्रमा विकास गर्न सोच परिवर्तन गर्नुपर्ने बताइन् । उनले विद्यार्थीले देशको भविष्यको कर्णाधार भएको बताउँदै शैक्षिक परिवर्तनका लागि संगठित भएर लाग्नुपर्ने बताइन् । उनले विद्यार्थीको हकहित र अधिकारका लागि अनेरास्ववियु सबैभन्दा उपयुक्त संगठन भएको बताउँदै यसमा लागेर शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक रहेको जोड दिइन् ।
कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष विष्णु थापा, नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरका सभापति राम कुमार तेली लगायतले शुभकामना मन्तव्य राखेका थिए भने राम प्रसाद लोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















