काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सांसद सुनील शर्मा पक्राउ गरेर प्रतिशोध साँधेको बताएको छ। कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारले प्रतिशोध साँधेर शर्मालाई पक्राउ गरेको बताए।

शुक्रबार पार्टीको संसदीय दलको बैठकमा पुगेका सांसद भण्डारीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सिआइबी प्रमुख किरण बज्राचार्यलाई भेटेर ध्यानाकर्षण गराएको बताए।

‘सुनील शर्मालाई थुन्नुपर्ने भन्ने छैन। गलत कुरा हो। जसको शक्ति उसको भक्ति गर्ने हो भने नेपालमा शक्ति भएकाले हतियार उठायो भने नेपालको अवस्था के हुन्छ? यो कुरालाई पनि बुझ्नुपर्छ,’ उनले भने,‘मैले प्रधानमन्त्री र सिआइबी चिफलाई भेटेर कुरा पनि गरेँ। यो गलत कुरा हो। नवराज सिलवालको पालामा अनुसन्धान भएको हो। सिलवाले पनि यो विषय अगाडि बढाउनुपर्ने थिएन भनिसकेका छन्। देशमा यति धेरै लुटपाट, करप्सन छ, यसमा राज्यले समय खर्च गर्ने हो। नचाहिने कुरा प्रतिशोधमा राज्यले समय खेर फाल्ने होइन,’ उनले भने।

शर्मालाई किन पक्राउ गरियो त? भन्ने प्रश्नमा उनले थपे, ‘होला नि कसैलाई नपचेको। कसैलाई जग्गा फिर्ता गर्दैमा उन्मुक्ति पाउने, मीनबहादुरले फिर्ता गर्दा उन्मुक्ति किन नपाउने? उहाँ (सुनिल शर्मा)को केसमा अदालतले सफाइ दिएको छ। किन समाएको? उनी भागेर विदेश जाने हुन र?’

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सांसद सर्मालाई प्रहरीले बिहीबार उनकै निवास गोल्फुटारबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।