काठमाडौँ : निर्माण व्यवसायीले भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

शुक्रवार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन उनीहरूले संसद् भवनअगाडि विरोध प्रदर्शन गर्दै उनीहरूले निर्माण व्यवसायीका माग सरकारले सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका हुन्। विरोध कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले अहिलेसम्म निर्माण व्यवसायीहरूका माग सम्बोधन नगरेको भन्दै तेस्रो चरणको आन्दोलन शुरु गर्ने चेतावनी दिए।

उनले व्यवसायीको सही प्रश्न उठाएका छन् भन्ने जानकारी हुँदा समेत सरकार बेखबर भएको बताए। उनले सरकारले निर्माण व्यवसायीलाई धराशायी बनाउने काम गरेको आरोप लगाए।

उनले सरकारले समयमै निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नसक्ने हो भने जनतालाई आवश्यक विकास निर्माणका काम मात्रै शुरु गर्नुपर्ने बताए। अध्यक्ष सिंहले राजनीतिक पार्टीका कार्यकर्तालाई पोस्ने गरेर सरकारले बनाएको उपभोक्ता समिति खारेज गर्नुपर्ने माग गरे।

उनले भने, ‘आन्दोलनको दोस्रो चरणको अन्तिम समयमा पनि सरकारले हामीले उठाएका मुद्दाको जवाफ दिएको छैन। व्यवसायीको समाधान खोज्न सकेको छैन। निर्माण व्यवसायीहरूलाई धराशायी बनाउने काम भएको छ। अब सरकारले हामीसँग सम्झौता गरेका आयोजनाको भुक्तानी कसरी दिन्छ ? सरकारसँग भुक्तानी दिनसक्ने क्षमता छैन। काम सकिएपछि रकम भुक्तानी गर्नुपर्छ। सरकार आँखा चिम्लेर बसिरहेको छ। हामी निरन्तर आन्दोलनमा छौँ। सरकारले उपभोक्ता समिति खारेज गर्नुपर्छ। उपभोक्ता समितिबाट भएका कामको गुणस्तर र मूल्यांकन बढी भएको छ। राजनीतिक पार्टीका कार्यकर्तालाई पोस्ने गरेर सरकारले उपभोक्ता समितिलाई निरन्तरता दिइरहनु हुँदैन। हाम्रो माग पूरा नभएसम्म निरन्तर आन्दोलित हुनेछौँ।’

व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, व्यावहारिक माइल स्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेका प्लाकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन्।