संखुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन
संखुवासभा : जिल्ला कारागार संखुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ।
बुधबार बिहान जिल्ला कारागार भएको घटनाको छानबिन गर्न संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। छानबिन समितिको सदस्यमा प्रहरी निरीक्षक सरोज खनाल, प्रशासन कार्यालय नायव सुब्बा तारिणी घिमिरे रहेका छन्।
जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो। मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
गएराति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताए।
उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्पतालमा लगिएको र सोही अस्पतालमा उनीहरुको मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताए।
उनका अनुसार अहिले जिल्ला कारागारका ९ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ। उनीहरुलाई कारागारको वातावरण सहज नभएसम्मका लागि कारागारबाट ठाउँ सारिएको जेलर घिमिरेले बताए।
बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामीले कारागारबाट भाग्ने प्रयास गरेका थिए।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसी छानबिन समिति गठन गरेको हो। घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रजिअ शिवकुमार कार्कीले जानकारी दिए।
उच्चस्तरीय छानबिन समिति बनाउन सांसदको माग
जिल्ला कारागार संखुवासभामा दुईजना कैदीबन्दीको मृत्यु प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सांसदले माग गरेका छन्।
प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे। प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले भने‚ ‘कैदीबन्दीको मृत्यु रहस्यमय घटना छ, यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक छ।’
घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको पनि प्रदेशसभा सदस्य कार्कीले बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















