नवलपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ। सुरुआती ठेक्का सम्झौतानुसार २०७९ साउन २२ मा सडक निर्माण भइसक्नुपर्नेमा दोस्रोपटक म्याद थपिएको छ।

आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक चूडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिए। उनका अनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद ३५० दिन थप भएको र पूर्वी खण्डको म्याद ३३० दिन थप गर्ने गरी छलफल अघि बढेको छ।

‘अघिल्लो वर्ष निर्माण कम्पनीले काम गर्दैन कि भनेर कारबाही गर्ने चेतावनी पनि दिएका थियौँ’‚ उनले भने, ‘हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले हामीले म्याद थप्ने निर्णय गरेका हौँ।’

पश्चिम खण्डको म्याद साउन २१ मा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद भदौ ११ मा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताए।

‘निर्माण कम्पनीले सडक विस्तारको काम छिटो सम्पन्न गर्न ठूलो अक्स्पाल्ट प्लान्ट (कालोपत्र गर्ने उपकरण) भित्र्याउँदै छ। केही दिनमा कस्टम क्लियर (भन्सार जाँच) भएर नेपाल भित्रिन्छ’‚ उनले भने, ‘त्यसपछि काम छिटो हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।’

अहिले काम गरिरहेको ठेकेदारलाई खेदेर अर्को ठेक्का लगाउँदा सडकको काम सकाउन अझै चारपाँच वर्ष पछाडि धकेलिने भएकाले यसैको ठेक्का थप गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए।

‘अहिले सडक विस्तारको काम गरिरहेको चिनियाँ ठेकेदारले काम गर्न नदिए जाने मनसाय बनाएका छन्। ठेक्का तोडेर धरौटी जफत गर्नुभन्दा अरू कारबाही हामी गर्न सक्दैनौँ’‚ उनले भने, ‘हामीले ठेक्का तोडेको अवस्थामा उनीहरुले विभिन्न कारण देखाएर मुद्दा हाल्ने तयारी गरेका थिए, जसकारण हामीले मुद्दा हार्दा ठूलो क्षति व्यहोर्नुपर्ने थियो।’ निर्माण सामग्री नपाएको, विद्युत्‌का तार नसारेको, रूख कटानमा ढिला गरेको लगाएका कारण देखाउँदै उनीहरू अदालत जाने तयारी गरेका वेला ठेक्का थप गर्नुको विकल्प नदेखिएको उनको भनाइ छ।

निर्माण व्यवसायीले दुई वर्ष म्याद थप गर्न निवेदन दिएकोमा दुई महिना लामो छलफलपछि करिब एक वर्ष म्याद थपको निर्णय गरिएको उनको भनाइ छ। सडक विस्तार गरिरहेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का सह व्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ।​

एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्छ।

उनका अनुसार पूर्वी खण्डमा हाल ४० प्रतिशत र पश्चिम खण्डमा ३६ प्रतिशत भौतिक प्रगति भएको छ। ‘हामीले दुवै खण्डको म्याद दुई वर्ष थप गर्ने गरी कन्सल्टेन्टलाई निवेदन दिएका थियौँ’‚ उनले भने, ‘कन्सल्टेन्टबाट सिफारिस भएर गएको ३५० दिन पश्चिम खण्डमा थप भएको छ, पूर्वी खण्डमा ३३० दिन थप गर्ने सिफरिस भएको छ।’

थपिएको म्यादअनुसार पश्चिम खण्ड (दाउन्ने–बुटवल) को म्याद २०८१ को साउन ८ गते सकिन्छ। थप गरिएको अवधिमा सडक विस्तारको ७५ प्रतिशत काम सम्पन्न हुने सहव्यवस्थापक झाले दाबी गरे।

‘कोभिड, समयमा कच्चापदार्थ नपाउनु, विद्युत्‌का तार सार्न ढिला हुनु, रूख कटान तथा जिम्माको काममा ढिला हुनु लगायतका कारणले काम ढिला भएपछि म्याद थपको माग गरेका हौँ’‚ उनले भने, ‘अहिले निर्माण सामग्री पर्याप्त छ, कुनै अवरोध नभएमा काम तीव्र गतिमा अगाडि बढाउन सक्छौँ।’

हाल नारायणगढ बुटवल खण्डअन्तर्गत पूर्वी खण्डमा १५ किलोमिटर सडक कालोपत्रे भएको उनले जानकारी दिए।