मुस्लिम समुदायलाई शिक्षामा प्राथमिकता दिनुपर्नेमा जोड
आर.ए. अन्जान
चन्द्रौटा, २४ साउन ।
कपिलवस्तुमा शिक्षा र समाज बीचमा एक दिने अन्र्तक्रिया कार्यक्रम गरिएको छ । राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा विजयनगर गाउँपालिका वडा नम्बर–७, दत्तपुरमा अवस्थित अहले सुन्नत गौसिया मदरसामा मंगलबार कार्यक्रम गरिएको हो ।
अकरम पठानले कार्यक्रमलाई सम्बोधन गर्दै मुस्लिम समुदायको मदरसामा सरकारको बिशेष ध्यानाकर्षण हुनुपर्ने बताए । मदरसाहरु व्यवस्थापन तथा सञ्चालनमा पछाडि रहेको अवस्थामा मदरसामा आधुनिक तथा व्यवसायिक शिक्षाको पहल राज्यले गर्नुपर्नेमा उनले जोडदिए । मदरसामा पढाउने शिक्षकको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शिक्षा ऐन लगायत संबैधानिक व्यवस्थामा मुस्लिम समुदायको पहुँच हरेक क्षेत्रमा हुन जरुरी रहेको पठानले बताए । मुस्लिम समुदायलाई शिक्षामा प्राथमिकता दिनुपर्ने जोड दिन आवश्यक रहेको पठानको भनाई छ ।
यसैबीच हाजी अब्दुल कलामले कार्यक्रममा बोल्दै मदरसाको व्यवस्थापन गर्न मुस्लिम समुदाय लगायत सम्पूर्ण सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताए । समाजसेवी मौलाना सद्दाम हुसेनले मुस्लिम समुदायको मदरसामा पढाउने बिषयको पाठ्यक्रम तयार गरि मदरसाहरूमा लागु गर्नुपर्ने बताए । यस्तै मौलाना मुइनुद्दीनले मुस्लिम समुदायको आफ्नै पहिचान रहेकाले त्यसको संरक्षण सबै मुस्लिम समुदायले मिलेर गर्नुपर्ने जिकिर गरे ।
राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका उपाध्यक्ष अतिकुर रहमान नेपाली, महासचिव मौलाना मुजिकुर रहमान मिश्वाही, मौलाना मुहिनुद्दिन हश्मती शाहब, मौलाना अखलाख अन्सारी, मौलाना अकरम अलि, मौलाना अब्दुल कलाम, मौलाना इब्राहिम लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























