राज्य आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : मन्त्री गुरुङ
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनै पनि बेलामा पन्छिन नमिल्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आदिवासी जनजाति आयोगले कार्ययोजनाहरु बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि सरकारले काम गर्ने बताए। उनले वर्तमान सरकार राज्यको भूमिका निर्वाह गर्ने कुनै पनि कुराबाट नपन्छिने बताए। उनले आदीवासी जनजातिहसँगै बसेर आदिवासी जनजातिका हकहितसम्बन्धी कानून निर्माण र कार्यान्वयन गर्ने पक्षमा सरकारले सँगै रहेर काम गर्ने बताए।
उनले भने, ‘आदिवासी जनजाति आयोगले विशेष ढंगबाट आफ्नो कार्यदिशाहरु निर्माण गर्दै, कार्ययोजनाहरु बनाउँदै, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा सरकारको पूरा सहयोग रहनेछ। आगामी दिनमा नेपाल सरकारको तर्फबाट हामी र तपाईहरु सबै सँगै बसेर आदिवासी जनजातिका सन्दर्भमा आगामी दिनमा गर्नुपर्ने कार्यलाई सँगै बसेर छलफल गरेर अघि बढाउनेछौँ। कसले गर्छ, गर्दैन भनेर छुट्याउने भन्दा पनि हामी सबै एकै ठाउँमा उभिएका छौँ। सँगै बसेर अघि बढ्न चाहन्छौँ ।
आफ्नो राज्यभित्र रहेका आदिवासी जनजातिहरुका लागि राज्यले आफ्नो सम्पूर्ण भुमिका निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिन कहिले पनि मिल्दैन। अहिलेको सरकार त्यो ठाउँबाट पन्छिँदैन। ’मन्त्री गुरुङले देशमा विविध संस्कृति, भाषाले आदिवासीलाई एउटा सुन्दर फूलबारी बनाइदिएको भन्दै यसलाई जोगाएर राख्न सक्नुपर्ने बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















