काठमाडौं : क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले संसद बैठकमा अवरोध गरेको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफ चित्त नबुझेको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो।

गृहमन्त्री श्रेष्ठले बोलेलगत्तै एमालेका संसदीय दलका सचेतक महेश वर्ताैलाले सरकारले छानबिन समिति बनाउन अस्विकार गरेको भन्दै आफूहरूको विरोध जारी रहने बताए। उनले माओवादी केन्द्रीय समिति बैठकका लागि संसद रोकेर एमालेले सदन चल्न नदिएको आरोप लगाएको भन्दै गृहमन्त्रीको आलोचना गरे।

त्यसपछि एमाले सांसदहरुले उठेर नाराबाजी गरेपछि बैठक अघि बढ्न सकेन। का‌ंग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रीले जवाफ दिइसकेकाले बैठक कार्यसूचीमा प्रवेश गराउन माग गरे। तर बैठक चल्न नसक्ने भएपछि सभामुख देवराज घिमिरेले बैठक साउन २४ गते बुधबारसम्मका लागि स्थगित गरे।