सङ्घीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा जान्छ : मन्त्री मोदी
काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय प्रशासनलाई बलियो बनाउन सरकारले सङ्घीय निजामती ऐन संसद्मा पेस गर्ने बताएका छन्।
‘सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार गरिएको छ। आजै नभए अर्को दिनको ‘क्याबिनेट’मा जान्छ,’ उनले भने।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) ले आज यहाँ आयोजना गरेको ‘अन्तर सरकार सम्बन्ध सुदृढीकरणमा सञ्चार जगतकाे भूमिका’ विषयक अन्तरक्रियामा उनले ऐनले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने जिकिर गरे।
प्रशासनिक सुधार कायम गर्न कर्मचारी दरबन्दीअनुसारको कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था गरिएको जनाउँदै मन्त्री मोदीले दुर्गममा सेवा गरेका कर्मचारीलाई सुगममा सरुवा गर्न लागिएको बताए।
‘मन्त्रालयले दुर्गममा रहेर अवसर नपाएका कर्मचारीलाई रोजेको ठाउँमा सरुवाका लागि निवेदन माग गरेको छ। लामो समय सुगममा बसेका कर्मचारी पनि दुर्गममा पनि जानुपर्छ, दुर्गम पनि नेपाल हो भन्ने कर्मचारीले बुझ्नुपर्छ,’ उनले भने।
लामो समय निमित्तका भरमा चलेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी दिँदै उनले काठमाडौँमा ‘अखडा’ जमाएर बसेका कर्मचारीलाई उपत्यका बाहिर पठाइएको बताए। मन्त्री मोदीले राजनीतिक तथा प्रशासनिक हस्तक्षेप र दबाब खेपेर पनि आफूले प्रशासनिक सुधारको थालनी गरेको उल्लेख गरे।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















