काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ प्रक्रिया अगाडि बढाउन आज बिहान ११ बजेका लागि संसदीय सुनुवाइ विशेष समितिको बैठक बोलाइएको छ। आजको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वानको निर्णय गर्ने सम्भावना छ। समितिले उजुरी आह्वान गरे सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

संवैधानिक परिषद्‌को साउन १८ गते बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

श्रेष्ठ संसदीय सुनुवाइबाट अनुमोदन भएर प्रधानन्यायाधीश नियुक्त भएमा २०८१ असोजसम्म उक्त पदमा रहनेछन्।