धनगढी : अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको हो।

पहिरोले सडक पुरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरुले बताएका छन्। ‘खानीडाँडादेखि बुढीतोला सडक पुरै चिराचिरा परेको छ। अहिले खुल्ने सम्भावना छैन’, यात्रु ललित जोशीले भने।

उता प्रदेश ट्राफिक कार्यालय अत्तरियाले प्रहरी टोली उक्त स्थानमा गइरहेको र पूर्ण विवरण नआएको जनाएको छ।

पहिरोले राजमार्ग अवरुद्ध बनेपछि हिजो रातिदेखि नै खानीडाँडा र बुढीतोलामा सयौं सवारी रोकिएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन्।

नदी उर्लदै, सर्तक रहन आग्रह

देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ।

हाल कैलालीको कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसारको कञ्चनपुर र कैलालीका धेरै स्थानमा पनि भारी वर्षा भएको छ।

कैलाली भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाको आग्रह छ।

गोदावरीबाट ६ जनाको उद्धार

कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको उद्दार गरिएको छ। सोमबार राति आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जनाको उद्दार गरिएको हो।

बाढीका कारण फसेकाहरुको ११ बजे राति उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।