अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी र पहिरो
काठमाडौं : देशका धेरै ठाउँमा अहिले भारी वर्षा भइरहेको छ। भारी वर्षासँगै देशभरको खोला, नदीमा जलसतहले सर्तकता तह पार गरेको छ।
हिजो बेलुकीदेखि निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका नदी खोलामा बाढी आएको छ। बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपमा भारी वर्षा हुँदा विष्णुमती, धोवीखोला, मनोहरा लगायत नदीमा बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
केही ठाउँमा धोवी खोला करिडोर सडकबाट बगिरहेको छ। विष्णुमती किनारका घर पसलमा पानी पसेको छ। सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको छ।
महाशाखाले सूचना जारी गर्दै नदी तटीय क्षेत्रमा बसोबास गरिरहेका र नदी निकारको सडकबाट यात्रा गर्नेहरुलाई विहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै रौतहट र सर्लाहीका नदी तटीय क्षेत्रमा आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन र सुरक्षित ठाउँमा रहन आग्रह गरिएको छ। बर्दियाको बबई नदीले खतराको तह पार गरेको छ। बबई नदिमा जलसतह ६ दशमलब आठ मिटर पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहने बासिन्दालाई दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
यस्तै सिन्धुलीको कमला नदीले पनि जलसतहको सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भईरहने क्षेत्रहरुमा रहनेलाई सर्तक रहन आग्रह गरिएको छ।
पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड विहानैदेखि अवरुद्ध छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम रोकिए दुईघण्टाभित्र पन्छाउन सकिने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
तर पानी परिरहेकाले समस्या भएको छ। पहिरोका कारण सडक अवरुद्ध भएसँगै सवारीसाधन रोकिएका छन्। यस्तै हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन्। पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ मा पहिरो खसेसँगै हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। लगातार पानी परिरहेकाले तत्काल पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। त्यस्तै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गरेपनि पहिरो झर्ने क्रम नरोकिएको र जोखिम कायमै रहेकाले पहिरो तत्काल हटाउन सक्ने अवस्था नरहेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो।
आज धेरै वर्षा
मनसुन सुरु भएसँगै यो वर्ष आज अहिलेसम्मकै धेरै वर्षा भएको छ। अबको दुई दिन देशैभर भारीदेखि अति भारी वर्षा हुने मौसमविद् गोविन्द झाले जानकारी दिए।
मौसमविद् झाका अनुसार आज र भोली देशैभर भारीदेखि अति भारी वर्षा हुनेछ भने पर्सीदेखि केही मत्थर हुनेछ।
पर्सी पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा कायमै रहनेछ भने अन्य प्रदेशमा भने केही कम हुने मौममविद् झाले बताउए। पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै २५९ मिलिमिटर बर्षा भएको छ।
यस्तै सिन्धुलीमा २४५, बारामा २३०, बाँकेको कुसुममा २०३ र काठमाडौंमा ७५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ। वर्षाभएसँगै मधेश प्रदेशका किसानलाई भने राहत मिलेको छ।
बेनी–जोमसोम सडक बन्द
बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ।
यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो। ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभरि रातिको समयमा यातायात आवागमनमा रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए। रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ।
यसैबीच बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिबारदेखि बेनी–जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ।
सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन्। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको जानकारी दिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















