संसद अवरोध : शीर्ष नेताहरुको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगियो
काठमाडौं : संसदको गतिरोध अन्त्यको लागि सोमबार बसेको शीर्ष नेताहरुको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ।
सोमबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा सरकार पक्ष र प्रतिपक्षी दल दुवै आफ्नो भनाइबाट टसमस नभएपछि दोश्रो पटक बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको हो।
सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ।
संसदको अवरोध हटाउन भएको छलफलमा सहमति हुन नसकेपछि सोमबारको लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित भएको छ।
एमालेले गत साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको एक क्विन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ भने सरकारले अनुसन्धान जारी रहेकोले त्यसमा विश्वास गर्न प्रतिपक्षी दललाई आग्रह गरेको छ।
एमालेका सचेतक महेश बर्तौला सरकार आफूहरुको माग पूरा गर्न सहमत नभएसम्म सदन चल्न नदिने बताउँछन्।
‘सरकार हामीले माग गरेको समिति बनाउन तयार छैन। हामीलाई नै पछि हट्नु भन्दैछ, हामी पछि हट्दैनौं‚’ उनले भने‚ ‘समिति नबनेसम्म सदन चल्दैन।’ बर्तौलाका अनुसार भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक पुनः बोलाइएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















