काठमाडौं : सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको छ। संसदीय समितिलाई पूर्णता दिन र संसदमा देखिएको अवरोध अन्त्यका लागि सभामुख र प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा शीर्ष दलका प्रमुख सचेतक र सचेतकहरूसहभागी रहेका छन्।

सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेको बैठक अवरोध गरेको थियो। एमालेको अवरोधपछि स्थगित भएको बैठक हालसम्म बस्न सकेको छैन। यस्तै संसदीय समितिले पूर्णता पाउन नसक्दा सरकारको आलोचनासमेत भइरहेको छ।