सामाखुसी खोलामाथि बनाइएको ‘स्ल्याब’ हटाउन थाल्यो काठमाडौं महानगरले
काठमाडौं : काठमाडौंको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालिएको छ। काठमाडौं महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो।
महानगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले बसुन्धरादेखि म्हैपीसम्म वहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालिएको जानकारी दिए।
काठमाडौं महानगरपालिकाले उक्त खोलामा झन्डै ३ किलोमिटर स्ल्याब हटाउन लागेको हो। हालसम्म बसुन्धरादेखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको र म्हैपी क्षेत्रको हटाउने काम जारी रहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए।
सामाखुसी खोलालाई पुरानै स्वरुपमा ल्याउन एक महिनादेखि काठमाडौं महानगरपालिकाले स्ल्याब हटाउन थालेको हो। खोला मिचेर बनाइएका घरहरु पनि बिस्तारै भत्काउने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले खोलाको दायाँबायाँ बाटो निर्माण गरे वृक्षरोपण गर्नेसमेत जनाएको छ। यही साउन ७ गते उक्त खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेका थिए। उनको शव दक्षिणकालीमा बिहीबार मात्र फेला परेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















