विराटनगर : कोशी प्रदेशमा २६ दिन अगाडिको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि पुनः मुख्यमन्त्री दाबी गरेर फर्केका उद्धव थापा नेतृत्वमा माओवादी केन्द्रले बाबुराम गौतमलाई मन्त्री बनाएर पठाउने भएको छ।

बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेपनि साँझ ५ बजेलाई सरेको छ।

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णय एकमतसहित गरिएको पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जीवन आचार्यले जानकारी दिए। उनले कुन–कुन मन्त्रालय भन्ने विषय टुङ्गिन बाँकी रहेका बेला आफू केन्द्रीय समिति बैठकमा काठमाण्डौं हिँडेको जानकारी दिए।

मन्त्रालय कुन भन्ने टुङ्गिन बाँकी छ, तर माओवादीको तर्फबाट सरकारको नेतृत्व उहाँ (गौतम)ले गर्नुहुनेछ।

मन्त्रिपरिषद्को कार्यविभाजन कांग्रेसका कारण ढिला भएको हुनसक्ने आचार्यको भनाइ छ। सभामुखबाट राजीनामा दिएर गठबन्धनको निम्ति दिएको योगदानलाई सबैले स्वीकार गरिसकिएको छ, आचार्यले भने, ‘अहिले बाबुराम गौतम हैन, म हुनुपर्छ भन्ने मान्यता छैन। आचार्यले मन्त्री हुनै नहुने भन्ने विषय आफूसँग जोडिएर आउने गरेको बताए। तर, माओवादीभित्र निर्वाचित प्रदेशसभामध्ये सबैभन्दा धेरै मतदाता भएको क्षेत्रको उम्मेदवार हो भन्ने कुरा कसैले पनि बिर्सन हुँदैन।’