कपिलवस्तु १५ साउन ।

कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा पछिल्लो समय बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि हुन थालेकाे छ । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढ्दै गएको हो ।

अदालतको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना वृद्धि हुँदै गएकाे देखिन्छ । अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा कुल ३ सय ४५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएको १ सय ३४ मुद्दा थियो । गत आर्थिक वर्ष कुल ४ सय ७९ लगत मध्ये ३ सय १५ सम्बन्ध विच्छेदका फर्छ्यौट भई १ सय ६४ मुद्दा फर्छ्यौट हुन बाकी रहेको अदालतका इजलास अधिकृत नारायण बहादुर भट्टराईले बताए ।

आव २०७८/०७९ मा कुल ५ सय १२ सम्बन्ध विच्छेदका मुद्दाको लगत थियो । त्यस मध्ये ३ सय ७८ फर्छ्यौट भई १ सय ३४ अर्को बर्षकालागि जिम्मेवारी सारिएको थियो । २०७७/०७८ मा २ सय ६८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए ।

अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुङ्गिने गरेको छ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पती बढी छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको छ । अधिकांश प्रेम विवाह गरेकाहरू  नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ ।

‘कलिलो उमेरमा विवाह गर्‍यो, बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ । किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढ्ने गरेको छ ।’ उनी भन्छन् । मादक पदार्थ सेवन गरी झैझगडा गर्ने, गरिबी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या भएको उनी सुनाउँछन् ।

अदालतका श्रैस्तेदार सुमन पाण्डेयका अनुसार सम्बन्ध विच्छेद्कालागि बढी महिला आउने गरेकोमा नयाँ मुलुकी संहिता लागु भएपछि पुरुषहरू सङ्ख्या पनि बढ्दो छ ।