लुम्बिनी प्रदेशमा चार बर्षमा एक हजार नौ सय चार जनाको मृत्यु
बुटवल ।
लुम्बिनी प्रदेशमा पछिल्लो ४ वर्षको अवधिमा सवारी दुर्घटनाबाट एक हजार नौ सय चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ हजार ८ सय ८ जना घाइते भएका छन् । लुम्बिनी प्रदेशको गृह मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६÷०७७ देखि २०७९÷०८० सम्ममा प्रदेशका १२ जिल्लामा ११ हजार ७ सय ६३ सवारी दुर्घटना भएका थिए । अधिकांश दुर्घटनाको कारण भने तीव्र गति नै रहेको देखिएको छ । त्यस्तै चालकको लापर्बाही, कमजोर सडक, धेरै भारवहन, पुराना सवारी र यात्रुमा भएको ट्राफिक अज्ञानतालाई पनि दुर्घटनाको कारणका रुपमा देखाइएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ४ सय ८४ जनाको मृत्यु भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७÷०७८ मा ५ सय २७, २०७८÷०७९ मा ५ सय ५१ जना तथा आर्थिक वर्ष २०७९÷०८० मा ३ सय ४३ जनाको मृत्यु भएको तथ्यांक छ । सवारी दुर्घटना हरेक वर्ष बढ्दै गए पनि गत आर्थिक वर्षमा भने तुलनात्मक रुपमा कम भएका थिए । सडक सञ्जाल राम्रो बनाएर दुर्घटनाविरुद्धका अभियानमा नागरिक सहभागिता बढाएको खण्डमा सवारी दुर्घटना कम हुनसक्ने मन्त्रालयका उपसचिव यमबहादुर कुँवरले बताए ।
रूपन्देहीमा दुर्घटनामा कमी
रूपन्देही लुम्बिनी प्रदेशकै सबैभन्दा बढी सवारी साधनको चाप भएको जिल्ला हो । सडक सञ्जालमा सुधार र ट्राफिक व्यवस्थापनमा प्रहरीको सक्रियताले दुर्घटनामा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रूपन्देहीका अनुसार, आव २०७८÷०७९ मा १ सय ७२ वटा सवारी दुर्घटना हँुदा ८४ जनाको मृत्यु भएको थियो । त्यसैगरी, १ सय ७१ जना गम्भीर घाइते भएका थिए । आर्थिक वर्ष २०७९÷०८० मा दुर्घटनामा कमी आएको छ । गत आर्थिक वर्षमा १ सय ५१ वटा दुर्घटना हुँदा ८३ जनाको ज्यान गएको छ भने १ सय १५ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग तथ्याङ्क छ । रूपन्देही जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक साकारराज पन्त ट्राफिक व्यवस्थापनमा प्रहरी सक्रियताले दुर्घटना न्यूनीकरण भएको बताउँछन् ।
‘यातयात व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना, सचेत र अन द स्पट कारबाही गरिएको छ ।’—उनले भने । आर्थिक वर्ष २०७८÷०७९को माघदेखि असारसम्म ९३ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९÷०८० को सो अवधिमा ३५ प्रतिशतले दुर्घटनामा कमि आएको हो । यो बेला ५९ वटा दुर्घटना भएको छ । दुर्घटनाबाट ११ दशमलव ४ प्रतिशतले मृत्यु र गम्भीर घाइते हुनेको दर पनि घटेको छ । आर्थिक वर्ष २०७९÷०८० मा सवारी दुर्घटना २ सय २१ वटा सवारी साधन संलग्न भएकोमा अधिकांश तीव्र गतिका कारण दुर्घटना भएको छ । भएका दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर १ सय ३६ वटा, कार–जीप २८, ट्याक्टर १५, ट्रक १०, बस ८ र शारीरिक शक्तिले चल्ने १२ रहेको छ ।
रूपन्देहीमा भएका सवारी दुर्घटनाहरूमा धेरै चालकको लापरबाही र तीब्र गतिकै कारण भएको अनुसन्धानले देखाएको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख पन्तका अनुसार ११० वटा दुर्घटना तीव्र गति, ३७ वटा चालकको लापरबाही र केही यात्रुको गल्ती, ओभरटेक, मापसे सेवन, ओभरलोडले भएका छन् । ती दुर्घटनाहरु मध्ये साँझ ६ बजेपछि धेरै दुर्घटना भएका छन् भने केही बिहान र दिउँसोमा भएका छन् । पछिल्लो समय सडकमा बढ्दो सवारी चाप, सीमित बाटो, क्षमताभन्दा बढी यात्रु बाक्ने, सडकको अवस्था मौसमको कारण, र हरेक वर्ष सवारी साधनको संख्या वृद्धि हुँदै जानुले दुर्घटना हुने गरेको छ ।
दुर्घटना तथा त्यसबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल विस्तारसँगै ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तीव्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ । तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न स्पीड जाँच गर्ने लेजर गन मेसिन (राडर)सहित समय समय कारबाही हँुदै आएको छ । आर्थिक वर्ष २०७९÷८० को पुषसम्म ९ सय ६७ सवारीसाधनलाई कारबाही गरेर ४ लाख ८३ हजार, त्यस्तै माघदेखि असार सम्म १४ सय ३६ सवारीसाधनलाई कारबाही गरेर ७ लाख १८ हजार गरी एक वर्षको अन्तरालमा १२ लाख बढी राजस्व संकलन भएको छ ।
प्रहरी निरीक्षक पन्तका भनाईमा, तीव्र गति दुर्घटनाको प्रमुख कारण बन्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको, यसले जिल्लाका राजमार्गहरुमा तीव्र गतिले सवारी दूर्घटना बढ्दै गइरहेकोमा त्यस प्रकारका सवारी दूर्घटना न्यूनीकरण गर्न सकिन्छ । अहिलेको राडर गन अत्याधुनिक रहेकोले यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने र ३ सय मिटरसम्म आएपछि गति मापन गर्छ । त्यस्तो गाडी ओभर स्पीड छ भने सय मिटरको दुरीमा आएपछि नम्बरसहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा कार्यालयले ल्याउने गरेको छ ।
कुन गाडी कति गतिमा गुडेको छ, त्यसले गनमा अंक देखाउँछ र तस्विर पनि खिच्ने भएकोले तत्काल स–प्रमाणसहितको चिट दिई कारबाही गर्न अहिले गनले सहज भएको छ । जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले बिना लाइसेन्स सवारी साधन चलाए, क्षमताभन्दा बढी यात्रु बोके, यात्रुबाहकमा सामान ओसार पोसार गरे, बिना कागजात सवारी चलाए जरिवाना गर्ने व्यवस्था भएअनुरुप कारबाही पनि गर्दै आएको छ ।
नियमविपरीत चलेका सवारीसाधनमाथि जिल्लाका विभिन्न ठाउँमा नियमित र छड्के जाँच गर्न थालेपछि आर्थिक वर्ष २०७९÷८० मा हालसम्मकै सबैभन्दा बढी राजस्व काराबाहीबाट असुल गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ५८ हजार दुई सय सवारीसाधनबाट ५ करोड ७३ लाख, आर्थिक वर्ष २०७८÷७९मा ६५ हजार ९ सय ५० वटा सवारीसाधनलाई कारबाही गरेर ६ करोड ९१ लाख राजस्व उठाएको ट्राफिकले आर्थिक वर्ष २०७९÷८० मा ६४ हजार २ सय ५० वटा सवारीसाधनका चालकबाट ७ करोड ६ लाख राजस्व असुल गरेको छ, जुन हालसम्मकै बढी रहेको प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।
जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने अधिकांस सवारीमध्ये ट्रक, बस, मोटरसाइकल, जीप, कार र ट्याक्टरका चालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना तथा त्यसबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न प्रयास गर्दै आए पनि सडक सञ्जाल बिस्तारसँगै बढ्दो सवारी साधन, चालकको लापरबाही, तीव्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी निरीक्षक पन्तले स्पष्ट पारे ।
हाम्रो उद्देश्य नै दुर्घटना र क्षति न्यूनीकरण गर्दै, दुर्घटना नै नहोस् भन्ने चाहना हो, कार्यालयमार्फत् र विभिन्न संघसंस्थासँगको सहकार्यमा दुर्घटना र क्षति न्यूनीकरण गर्न विविध कार्यक्रम तथा अभियानहरु पनि कार्यालयले सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा १ सय १४ वटा कार्यक्रममार्फत् ११ हजार बढीलाई जनचेतनामूलक कार्यक्रममा सहभागी गराइएको छ, भने आर्थिक वर्ष २०७९÷०८० मा ८ सय ४ वटा कार्यक्रममार्फत् १लाख १५ जना बढीलाई ट्राफिक सचेतना गराइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















