काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बाघ संरक्षण नेपालको पर्यटन प्रवर्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने बताएका छन्।

विश्व बाघ दिवस, २०२३ को अवसरमा सन्देश जारी गरी राष्ट्रपति पौडेलले बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गरेका छन्।

‘बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवं सहयोगी संस्थालाई विशेष धन्यवाद दिन चाहन्छु’, उनले भनेका छन्।

बाघको चोरी शिकारी तथा बाघका अङ्गको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणका लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाले विश्वव्यापी बाघ संरक्षणको अभियानमा पुगेको पहलकदमी सार्थक भएको उनको भनाइ छ ।

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्यु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ’, उनको सन्देशमा उल्लेख छ, ‘बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय बासिन्दाको वन पैदावारमाथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रम सञ्चालनका लागि विशेष पहल गर्न अत्यावश्यक छ।’