एसइईको नतिजामा सुधार आयाे : मेयर बालेन
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सामुदायिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा(एसइई) नतिजामा सुधार आएको बताएका छन्। शुक्रबार शाहले यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ३.६१ देखि ४.० ल्याउने विद्यार्थीको संख्या ७८ प्रतिशतले वृद्धि भएको जानकारी दिएका छन्।
उनका अनुसार गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६ प्रतिशत) जनाले ३.६१ देखि ४.० ल्याएका थिए। यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५०(३.८३ प्रतिशत) छात्रछात्राले ३.६१ देखि ४.० जिपिए ल्याएका छन्। आवेदकमध्ये गएको वर्ष १२५ (३.१७ प्रतिशत) जना गयल भए भने यस वर्ष ५० (१.२३ प्रतिशत) जना गयल देखिए।
‘यो तथ्याङ्कबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै छ, विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन्, हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको छ,’उनले भने।
उनका अनुसार गएको वर्ष ३.२१ देखि ३.६० जिपिए ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४ प्रतिशत) जना थियो। यस वर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेको छ।
यो ५१ प्रतिशत वृद्धि दर रहेको उनले जानकारी दिए। ‘गएको वर्ष ६९७ (१७.६८ प्रतिशत) जनाले २.८१ देखि ३.२१ मा उत्तीर्ण गरेका थिए, यस वर्ष ८०४ (२०.५५ प्रतिशत) जनाले २.८१ देखि ३.२१ ल्याएका छन्, यो १६ प्रतिशत वृद्धि हो, गएको वर्ष २.४१ देखि २.८० ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५० प्रतिशत) थियो, यस वर्ष ९७४ (२४.९० प्रतिशत) पुगेको छ,’उनले भने।
उनका अनुसार गएको वर्ष १००४ (२५.४६ प्रतिशत) को २.०१ देखि २.४० आएको थियो। यस वर्ष २.०१ देखि २.४० ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४ प्रतिशत) पुगेको छ। यसको घट्दो प्रतिशत (–८ प्रतिशत) हो। यससँगै १.६१ देखि २.० ल्याउने विद्यार्थीको संख्या (–२९ प्रतिशत) ले घटेको छ। गएको वर्ष यस ग्रेडमा ६२० जना (१५.७२ प्रतिशत) उत्तीर्ण थिए। यस वर्ष ४३५ (११.१२ प्रतिशत) मा घटेको छ।
महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको उनले बताए।
‘यसका लागि हामीले गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गर्यौँ, गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्यौँ, उहाँहरूको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन, बाहिर समग्र रूपमा वृद्धि भएको छ,’उनले भने।
यस्तै,उनले ९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गरेको पनि जानकारी दिए। ‘शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो, प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन्,’उनले भनेका छन्।
विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरू पढाइमा थप रूचि राख्न थालेको उनको भनाइ छ। ‘अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो,
प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको छ,’उनले भने। 
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















