काठमाडौँ : गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन्।

भक्तपुरका चारवटा नगरपालिकामध्ये लम्पी स्किन रोग प्रकोपका कारण सबैभन्दा धेरै प्रभावित बनेको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका हुन्। उक्त रोगका कारण गाई, गोरु, बाच्छाबाच्छी र केही भैँसीसमेत मरेका छन्। नगरपालिकाका पशुविकास अधिकृत खड्ककुमार मैनालीका अनुसार गाईभैँसीको मुत्युदर लिखित डाटामा कम भए पनि गाउँघरमा जाँदा ठूलो संख्यामा रहेको देखिएको छ।

उनले यो संक्रमणको असर आगामी वर्ष गाईभैँसीमा गर्भाधारण नभई उल्टी रहने बाँझोपनको समस्या आउन सक्ने भन्दै सचेत हुन आग्रह गरे। यसैगरी नगरपालिकाभित्र ठूलो संख्यामा गाईको क्षति भएको बताउँदै किसानहरूलाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार, विज्ञ केन्द्र र पशुसेवा विभागलाई अनुरोध गर्दै पत्र लेखेका जानकारी समेत गराए।

मैनालीले भने, ‘अहिले चाँगुनारायण नगरपालिकाका ८० प्रतिशत गाईमा क्षति पुगेको छ। यसले दूध उत्पादन घटेको छ। अहिले गाईहरूमा कृत्रिम गर्भाधारण भइरहेको छैन। त्यसको असर अर्को वर्ष देखापर्न सक्छ। हामीले माथिल्लो निकायलाई अनुरोध गरेका छौं। मृत्युदरको मात्रा पनि ठूलो संख्यामा रहेको देखिन्छ। अहिले हामीले डाटा लिइरहेका छौं। कम्पाइल गरेका छैनौं।’

चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदा पशुचौपायाको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले महामारीको नियन्त्रणका लागि घुम्ती सेवा सुचारु गरेको छ। घुम्ती सेवामार्फत किसानलाई परामर्श दिनुका साथै तथ्याङ्क संकलन र निःशुल्क औषधि वितरणको काम भइरहेको छ।

त्यस क्रममा चाँगुनारायण नगरपालिका पशुपक्षी विकास शाखाका डा. सौरभ गेलालले पशुपालन क्षेत्रमा रोग भित्रिन नदिन व्यवस्थापन, प्रजनन, आहारा तथा स्वास्थ्यका क्षेत्रहरूमा असल पशुपालन अभ्यासको विकास गर्दै लैजानुपर्नेमा जोड दिए। उनले लम्पी स्किन रोग लागेका गाईभैँसीको दूध खान हुन्छ वा हुन्न भन्ने किसानहरूको ठूलो प्रश्न रहेको भन्दै ढुक्क भएर खान अनुरोध गरे। संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक प्रयोग भएको गाईभैँसीमा भने ७ दिनसम्म दूध खान नहुने उनको भनाइ छ।

नगरपालिकाका पीडित किसानहरूले भने नगरपलिकाभित्र वितरण हुने औषधि भनसुनका आधारमा पहुँचवालालाई मात्र वितरण हुने गरेको र पशु चिकित्सकहरू पनि दरबन्दीअनुसार उपलब्ध नभएको लगाएका गुनासो गरेका थिए।

पछिल्लो तथ्यांकअनुसार लम्पीबाट ७७ जिल्ला प्रभावित भएको छ भने आठ लाखभन्दा बढी पशु संक्रमित भइसकेका तथा २७ हजारभन्दा बढी पशुको मृत्यु भइसकेको छ । नेपाल पशु चिकित्सा परिषद्को अध्ययनअनुसार ३८ अर्बभन्दा बढी रुपैयाँको आर्थिक क्षति भइसकेको छ ।

उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिँगान बग्ने, फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि गिर्खा तथा फोका देखिन्छ। उक्त महामारी केही हदसम्म कम हुँदै गएको विज्ञहरूको भनाइ छ।