वर्तमान सरकार विपीको नीतिबाट प्रेरित : उपप्रधानमन्त्री खड्का
काठमाडौँ : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार विपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन्।
विपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बिपी कोइरालाको सिद्धान्त अनुरुप भएको दावी गरे
विपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन समय समयमा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उनले आफूहरुले पनि महत्वपूर्ण राजनीतिक निर्णय गर्दा बिपी कोइरालालाई सम्झने गरेको बताए।
विपी कोइरालाको सिद्धान्त अनुरुपनै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको उहाँको दाबी छ। अब सरकार र राजनीतिक शक्तिले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बिपी कोइरालाप्रति सच्चा सम्मान हुने उपप्रधानमन्त्री खड्काले धारणा राखे।
सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजल स्थिति विपी सङ्ग्रहालयमा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुको सालिकमा माल्यार्पण गर्नु साथै सङ्ग्रहालय परिसरमा वृक्षारोपण समेत गरे।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















