पर्वत : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती गरेको छ।

आर्थिक वर्ष ०७९/०८० को तुलनामा यो वर्ष एक करोड ४८ लाख आठ हजार कम बजेट विनियोजन भएको छ। बजेट कम विनियोजन हुँदा सुरुवात गरिएका केही कार्यक्रमलाई निरन्तर अगाडि बढाउन समस्या हुने भएको छ। ‘अघिल्लो वर्ष प्रज्ञा प्रतिष्ठानको लागि तीन करोड २८ लाख बजेट छुट्टाइएको भए पनि यो वर्ष एक करोड ४८ लाख आठ हजार रुपैयाँ कम बजेट विनियोजन भएको छ’, प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले भने, ‘बजेट कम हुँदा नयाँ कार्यक्रमहरू ल्याउन त समस्या नै हुन्छ। चल्दै आइरहेका कार्यक्रमहरूलाई पनि निरन्तरता दिन समस्या हुने देखिएको छ।’

यो वर्ष स्वास्थ्य बिमा, स्रष्टा वायोग्राफी, भाषा प्रशिक्षण, प्रकाशन र दिवस तथा समारोह शीर्षकको रकम कटौती गरिएको हो। प्रतिष्ठानले तीव्रताका साथ काम गरिरहेका क्षेत्रमा बजेट कटौती हुँदा अन्यौलता थपिएको सदस्य सचिव श्रेष्ठ बताउँछन्।

अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रज्ञा प्रतिष्ठानले दुई सय जना स्रष्टाहरूको स्वास्थ्य बिमा गरेको थियो। कम्तीमा १० वर्षदेखि सो विधामा योगदान पुर्‍याएका स्रष्टाको बिमा गरिएको थियो। बजेट कटौती हुँदा अबको वर्ष यो कार्यक्रमलाई निरन्तरता दिन समस्या हुने भएको छ।

प्रतिष्ठानले ‘जाती विस्थापित भाषा’ नाम दिएर मातृभाषा प्रशिक्षण कार्यक्रम गरिरहेको थियो। यो वर्ष यो शीर्षकको बजेट पनि कटौती भएको छ। जसका कारण प्रतिष्ठानको अभियानमा धक्का लागेको छ। यस्तै गत वर्ष प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना स्रष्टाहरूको ‘वायोग्राफी’ तयार पारेको थियो। यो वर्ष थप स्रष्टाहरूको ‘वायोग्राफी’ तयार पार्ने योजना बनाए पनि बजेट कटौती हुँदा अन्यौलता थपिएको छ।

गण्डकी प्रदेशका कला साहित्य सङ्गीत तर्फका स्रष्टाहरूलाई नगद सहित सम्मान सहितको कार्यक्रम गरेर स्थापना दिवसको कार्यक्रमलाई भव्य रूपमा मनाउँदै आएको प्रतिष्ठानले अबको वर्ष यो शीर्षकमा खर्च गर्न पाउने छैन। यसै गरी प्रतिष्ठानले नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्य दर्पण’ प्रकाशन गरेको थियो। प्रकाशनतर्फ अन्य काम पनि भए। तर प्रकाशन शीर्षकको बजेट कटौती भएकोले यो वर्ष प्रकाशन सम्बन्धी काम गर्न समस्या हुने छ।

‘गण्डकी प्रज्ञा प्रतिष्ठान’ को स्थापना साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्द्धन गर्ने काम गर्नको लागि भएको हो।