यतिबेला भारतको मणिपुरमा दंगाकारीहरूले महिलालाई निर्वस्त्र घुमाएको घटनाले सर्वत्र आलोचना भइरहेको छ।

उक्त घटनाका दुई पीडित महिलामध्ये एकका पति सेनामा सुवेदार भएको बताइएको छ। उनले कारगिल युद्धमा देशलाई शत्रुहरूबाट बचाए पनि दंगाकारीहरूबाट आफ्नो श्रीमतीको इज्जत बचाउन नसकेकाेमा गुनासाे गरेका छन्।​ पीडित महिलाका पति असम राइफल्समा थिए।

उनले भने, ‘हजार मानिसको भीडले गाउँमा आक्रमण गरेको थियो। मैले मेरी श्रीमती र गाउँलेहरूलाई भीडबाट बचाउन सकिन। प्रहरीले पनि सुरक्षा दिएनन्।भीडले तीन घण्टासम्म अत्याचार जारी राख्यो। मेरी श्रीमतीले कतै गाउँमा आश्रय लिइन्। उनी धेरै दिनसम्म आघातमा थिइन्।’

घटनाको साढे दुई महिना बितिसक्दा पनि उनको आँखामा क्रोध र असहायता छ।

त्यही क्रममा भिडियोमा देखिएकी अर्की महिलाकी आमाले आफू अब कहिल्यै गाउँ नफर्कने बताएकी छिन्। ‘ त्यहाँ मेरो सानो छोरालाई गोली हानेर मारियो, मेरी छोरीलाई नङ्गाइयो। अब मेरो लागि सबै कुरा सकियो।‘

थोउबाल जिल्लामा वैशाख ४ गते महिलालाई नग्न बनाइएको थियो। यसको भिडियो १९ जुलाईमा सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा केही व्यक्तिले ती दुई महिलालाई नग्न अवस्थामा लगेर अश्लील व्यवहार गरेको देख्न सकिन्छ।

प्रहरीले अहिलेसम्म ४ जना अभियुक्तलाई पक्राउ गरेको छ। आरोपित चारै जनालाई शुक्रबार अदालतमा पेश गरिएको थियो। उनीहरूलाई अदालतले ११ दिनको प्रहरी हिरासतमा पठाएको छ।

यता मुख्य अभियुक्त हुइरेम हेरोदास मेइतीको घरमा बिहीबार महिलाहरू आगो लगाइदिएका छन्। पक्राउ परेको केही घण्टामै ठौबल जिल्लाको पची गाउँमा मीरा पैबीकी महिलाले अभियुक्तको घरमा आगजनी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।