कपिलवस्तु – हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत बिरुद्ध बर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट साईबर क्राइममा फसाउनका लागि उजुरी दर्ता गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला शाखा घोर भत्सना गर्दछ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सुरक्षा जाँच पासगरी हाल सम्मको सर्वाधिक परिमाणमा सुन तस्करी हुनुमा सुन तस्करी गृह नेतृत्वसहित उच्च अधिकारीहरुको संलग्नता भएको गन्ध आएको विषयमा दिइएको अभिब्यक्तिलाई लिएर गृहमन्त्रीकै सचिवालयका सदस्यले सामाजिक सञ्जालमा भ्रम फैलाउने र प्रहरीमा उजुरी दिनु अत्यन्त निन्दनिय काम भएको ठहर गरिएको छ ।

गृहमन्त्रीको सचिवालयबाट फोन गराएर हाम्रो संगठनका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ गर्यो भनेर समाचार लेखाउनु र माओवादी कार्यकर्ता लाई स्ट्याटस लेख्न लगाउने, समाचार लेखाएपछि सचिवालयकै सदस्यले प्रहरीमा उजुरी दिनु भनेको गृह मन्त्रालयले आफ्नो कमजोरी लुकाउन खोजेको प्रष्ट देखिन्छ ।

गृहमन्त्रीले उठान भएको विषय वस्तुमा प्रष्ट जवाफ दिनु पर्नेमा प्रेस चौतारीका अध्यक्षलाई फसाउन खोज्नु भनेको अत्यन्त निन्दनिय रहेको छ । गृहमन्त्रीको सचिवालयबाट नेपाली प्रेस र आम नागरिकलाई आतंकित पारेर÷त्रासमा राखेर निरंकुश एवं अधिनायकवादी शासन चलाउने अभ्याशमा त छैन भन्ने गम्भीर आशंका पैदा गरेको छ । त्यस्ता अमर्यादित क्रियाकलाप बन्द गरी प्रेस स्वतन्त्रताले दिएको अधिकार कुण्ठित नगर्न ध्यानाकर्षण गराउन चाहन्छौ ।