मोतियाविन्दुको निःशुल्क शल्यक्रिया‚ एक वर्षमा १९ सय जनाले पाए दृष्टि
तुलसीपुर : उज्यालो अभियान कार्यक्रमअन्तर्गत करिब १९ सय जनाले दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारसँग आर्थिक वर्ष ०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रमअन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि दृष्टि प्रदान गरिएको हो।
सर्वसाधारणले मोतियाविन्दुका कारण दृष्टिविहीन जीवनयापन गर्नु नपरोस् र सरकारको आँखा स्वास्थ्य रणनीतिलाई समेत सहयोग पुर्याउन स्थानीय तहहरुसँग मोतिविन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरि गत आर्थिक वर्षमा उज्यालो अभियान सञ्चालन गरिएको बताउँछन् प्रमुख प्रशासक सम्शेर थापा।
उक्त कार्यक्रमअन्तर्गत एक वर्षमा १ हजार ८ सय ९९ जनालाई उज्यालो प्रदान गरिएको समेत उनले बताए। पैसा र पहुँचको अभावका कारण कोही कसैले पनि अनाहकमै आँखाको ज्योति गुमाउन नपरोस् भनेर उज्यालो कार्यक्रम संचालन गरिएको उनको भनाई छ।
उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना , बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा १०० जना मोतियाविन्दुका विरामीको शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको वाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए।
देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिकाका ४ सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जना र लमही नगरपालिका वडा नं. ६ ले ९ जनाको गरि ७ सय ३२ जनाको मोतियाविन्दुको शल्यक्रिया यस आर्थिक वर्षमा गरि दृष्टि प्रदान गरेको नेत्र सहायक विमल घिमिरेले जानकारी दिए।
लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामासमेत साझेदारीमार्फत उज्यालो अभियान पुर्याई ४९ जना मोतियाविन्दुका विरामीको शल्यक्रिया गरिएको जनाएको छ।
छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्ण नगर नगरपालिकाका वडा नं. ३ देखि १२ वडा सम्ममा २ सय ५५ जना विरामीहरुको शल्यक्रिया गरेको वाह्य कार्यक्रम सहसंयोजक हरि भण्डारीले जानकारी दिए। कपिलस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा १ सय जना र शिवराज नगरपालिकामा ८० जना मोतियाविन्दुका विरामीहरुको आँखा शल्यक्रिया गरिएको प्रशासकीय अधिकृत जसराज विश्वकर्माको भनाई छ।
अभियानले दृष्टि विहीनता न्यूनीकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले दृष्टिविहीन भएर घरमै बसेकाहरुलाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए।
‘हामीले हुनेसँग लिने र नहुनेलाई आँखा उपचार सेवा दिने हो त्यसमा पनि स्थानीय सरकारको पनि आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडि बढौं भन्ने हाम्रो उद्देश्य हो‚’ उनले भने।
सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले पालिकामा रहेको अन्धोपन न्यूनीकरण गर्न आफूहरु लागेको बताए।
‘उज्यालो अभियान जनताका लागि अति आवश्यक कार्यक्रम हो। पालिकाको अन्धोपन न्यूनीकरणका लागि साझेदारी कार्यक्रम गरि यो वर्ष कम्तीमा पनि आधालाई उज्यालो प्रदान गर्ने प्रतिबद्धता म जाहेर गर्छु‚’ अध्यक्ष विश्वकर्माले भने।
उनले यस आर्थिक वर्षमा करिब ४९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको भन्दै अब ३२० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्यांकले देखाएको र यस वर्ष आधा आँखा रोगीलाई शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने बताए।
दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि आँखा अस्पताल र आफूहरुको साझेदारीमा पहिलो पटक सञ्चालन गरेको अभियान प्रभावकारी भएको बताए। उनले उज्यालो आँखा कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइनेछ।
सम्झौताभन्दा बढी मोतियाबिन्दुका बिरामीको शल्यक्रिया वापतको रकम आगामी आर्थिक वर्षमा भुक्तानी दिने गरी व्यवस्था मिलाइने नीति कार्यक्रममा समेत उल्लेख गरेको बताए।
घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, तथा अन्य गाउँपालिका नगरपालिका र वडाहरुले पनि यस अभियानलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने बताए।
नेपाल नेत्रज्योति संघको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ कार्यक्रमलाई सफल बनाउन सबै स्थानीय पालिकामा छलफलसमेत भएको प्रमुख प्रशासक सम्शेर थापाले बताए।
उनले जनप्रतिनिधिले पालिकाका जनतालाई उज्यालो अभियान सञ्चालन गरि अन्धोपन लागि साझेदारी गर्ने प्रतिबद्धता जनाएको समेत बताए।
नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा दिँदै आइरहेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















